समाज

नेपालमा कृषि सिकाउँदै अमेरिकी नागरिक एरिक ‘प्रेम’

पाल्पा - प्रेम थापाको वास्तविक नाम एरिक ब्रायन हो। उनको वास्तविक घर अमेरिकाको न्यूयोर्कमा हो। नेपालमा कृषि सिकाउन तथा संस्कृति बुझ्नको लागि नेपाल आएको प्रेमले बताए। उनी २० महिना अगाडि नेपाल आएका हुन्।

पाल्पाको तानसेन नगरपालिका–९, मदनपोखराको छापमा उनले कृषि कार्य गर्दै आएका छन्। दिनहुँ गाउँका कृषकसँग मिलेर काम गर्ने र उनीहरुसँगै सिक्ने सिकाउने प्रेमको दैनिकी बनेको छ। उनी भन्छन्, ‘नेपाल कृषि प्रधान देश भन्ने सुनें। नेपालमा आएर यहाँको कृषिका विषयमा मैले स्नातकोत्तर तहका लागि थेसिस लेख्दै छु। कृषिको काम जसमा च्याउको काम गर्दै छु। नेपालमा सस्टेनेबल कृषिको कार्य भएको रहेछ। म दुई वर्षको लागि नेपाल आएको हुँ। म चार महिनापछि अमेरिका पुगेर फर्कन्छु। पूनः एक वर्ष बस्ने सोंच छ।'

कृषिमा नेपालको सम्भावना धेरै भएको बताउँदै उनले कृषिमा दिर्घकालिन अभ्यास हुनु जरुरी रहेको बताए। नेपालमा कृषिको विकास तथा विस्तार हुन नसक्नुमा उनले प्राचिन खेति प्रणालीमा समयसापेक्ष परिवर्तन हुन नसक्नु, पानीको अभाव रहनु, नयाँ विधि, प्रविधि, यन्त्रको प्रयोग पर्याप्त मात्रामा नहुनु रहेको बताए।

आफ्नो प्रयासमा थुप्रै बिउबिजनसमेत वितरण गरेको बताउँदै उनले यसले कृषिकार्यमा केही परिवर्तन ल्याउने बताए। राम्रोसँग नेपाली बोल्न सक्ने एरिकले कृषकहरुलाई थुप्रै कृषिकार्यका नयाँ नयाँ विधिहरुसमेत सिकाइरहेका छन् जसका कारण छापका कृषकहरु पनि रमाएका छन्। च्याउका अग्रणी किसान केशव कार्कीले प्रेम नेपालमा कृषिका लागि धेरै अनुकरणीय बन्न सक्ने बताए। उनी भन्छन्, ‘मैले लगाएका हरेक च्याउका किसिममा उनले प्राविधिक सहयोग गरेका छन्। हामीजस्ता धेरै किसानसँग मिलेर खेतबारीमा काम गर्ने गर्छन्।'

 

प्रकाशित: २० फाल्गुन २०७५ १३:३८ सोमबार

एरिक_ब्रायन कृषि