समाज

हेलचक्रयाइँले दुर्घटना बढ्दै

पोखराको आकाशमा उडिरहेका प्याराग्लाइडिङ। फाइल तस्बिर : उमेश पुन/नागरिक

पोखरा - –२०७३ माघमा प्याराग्लाइडिङ दुर्घटनामा बेलायती पाइलट माइकल पिटर पाल्मचाप्डको ज्यान गयो।
–२०७४ असोज ३० गते दिउँसो एक्कासि चलेको हावाको भुमरीमा परेर एकाएक सातवटा कम्पनीका आठ उडानमा रहेका पाइलट र विदेशी यात्रु फेवातालमा खसे। बेलैमा उद्धार हुँदा उनीहरु सकुशल रहे।
–पोहोर कात्तिक २७ मै भएको प्याराग्लाइडिङ दुर्घटनामा नवलपरासी सुनवलका २१ वर्षीय मनिष गुरुङको मृत्यु भयो।
–आइतबार दिउँसो सराङकोटबाट उडेका रोमानियाका पाइलट एबी चिसजरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाए। सराङकोटबाट उडेका उनी एकाएक तालमा खसेका थिए। जीवितै उद्धार गरेर अस्पताल ल्याए पनि उपचारको क्रममा एबीको ज्यान गएको प्रहरीले बताएको छ।

प्याराग्लाडिङ दुर्घटनाका यी पछिल्ला उदाहरण हुन्। यहाँ महिनौंजसो प्याराग्लाइडिङ दुर्घटना हुन्छन्। तीमध्ये केही घटना बाहिर आउँछन् भने कतिपय घटनालाई गुपचुप पारिन्छ। व्यवसायी सकेसम्म प्याराग्लाइडिङ दुर्घटनाका क्षतिको खबर बाहिर ल्याउन चाहँदैनन्। क्षतिको घटना बाहिर आए पर्यटकमाझ नराम्रो सन्देश जाने व्यवसायीको धारणा छ।

आखिर किन हुन्छन् पोखराको आकाशमा बारम्बार प्याराग्लाइडिङ दुर्घटना ? नेपाल हवाई खेलकुद संस्था (एनएए) का उपाध्यक्ष सोवित बानियाँ भन्छन्, ‘जसले जहाँबाट उडे पनि रोकतोक छैन। आकाशमा उड्ने प्याराग्लाइडिङलाई कतैबाट नियमन हुँदैन। मनपरी भएकाले जोकोही जहाँ पायो त्यहींबाट उड्छन् अनि एकआपसमा ठोक्किएर दुर्घटना हुन्छ। कतिपयले मौसमको ख्यालसमेत गर्दैनन्।’ उनका अनुसार पोखराको आकाशमा उड्न आएका विदेशी पाइलटले त ‘टेकअफ’ र ‘ल्यान्डिङ’ क्षेत्रसमेत अध्ययन गर्दैनन्।

‘जसले जहाँबाट उडे पनि रोकतोक छैन। आकाशमा उड्ने प्याराग्लाइडिङलाई कतैबाट नियमन हुँदैन। मनपरी भएकाले जोकोही जहाँ पायो त्यहींबाट उड्छन् अनि एकआपसमा ठोक्किएर दुर्घटना हुन्छ।’

‘मौसमको ख्याल पनि नगर्ने र अनुभव नै नभएको पाइलट एकाएक व्यावसायिक उडान हुने क्षेत्रमा पुगेर हामफाल्दा यो समस्या आएको हो,’ बानियाँ भन्छन्, ‘कुन तहको सिकाइ भएको पाइलटले यहाँ उडान भरेको हो र उसले उडाउने ग्लाइडरको अवस्था कस्तो थियो भन्ने कतै परीक्षण हुँदैन। अनुमति लिएको भरमा एकाएक हामफाल्न पुग्छन्।’ विदेशी पाइलटले अनुमति लिएर उडान गर्न गए पनि पाइलटको शारीरिक अवस्था, अनुभव, ग्लाइडरको आयु, मौसमी ज्ञान, हावाको वहावलगायतमा कुनै जानकारी दिइन्न र सोधखोज गरिन्न।

‘कम्पनीको सिफारिसका आधारमा नागरिक उड्ययन प्राधिकरणले स्वीकृति दिन्छ अनि पाइलट उड्न सराङकोट पुग्छन,’ बानियाँले भने, ‘त्यसले दुर्घटना निम्त्याउँछ।’ उनका अनुसार अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त पाइलट भए पनि पोखराको हावापानीभन्दा फरक वातावरणमा सिकाइ हुँदा पनि उडानमा अप्ठेरो हुन सक्छ। त्यसबाहेक टेकअफ र ल्यान्डिङ क्षेत्रबारे ज्ञान नहुनु पनि समस्या हो। व्यावसायिक उडान हुने क्षेत्रमा सोलो (एकल) उडानलाई अनुमति दिँदा भीडभाड भएर पनि दुर्घटना निम्तिने गरेको बानियाँले बताए।

‘विदेशी पाइलट भन्दैमा सबै सक्षम हुन्छन् भन्ने छैन। लाइसेन्स पाउँदैमा सबै पाइलट सबै ठाउँमा उड्न नसक्ने पनि हुन्छन्,’ उनले भने, ‘कुन तहको पाइलट हो र उसको सिकाइको तह र उड्डयन सामग्री केकस्तो छ भन्ने परीक्षण गर्ने निकाय कोही छैन।’ यहाँको भौगोलिक अवस्था, मौसमी ज्ञान, व्यावसायिक उडान हुने क्षेत्र भएकाले त्यसको पनि ख्याल राख्नुपर्ने उनले बताए। ‘पोखराको आकाश प्याराग्लाइडिङ उडानका लागि योग्य भए पनि यहाँको मौसम छोटो समयमै बदलिन्छ। त्यसमा विदेशी पाइलटले होस गुमाउन सक्छन,’ उनले भने।

उनका अनुसार एकैपटक समूहमा समेत दुर्घटना भएका छन्। समूहमा भएका दुर्घटनाको एकमात्र कारण थियो अचानक भएको मौसमी परिवर्तन। ‘उड्ने बेलामा मौसम ठीक हुन्छ तर केही बेरमै एकाएक हावा चल्छ अनि तालसम्म हुत्याउँछ,’ बानियाँले भने, ‘छोटो समयमा परिवर्तन हुने मौसममा पनि सम्हालिन सक्ने क्षमता हुनुपर्छ तर त्यसबारे यहाँ कसैलाई सिकाइन्न।’ बेलाबेला दुर्घटना हुँदा नेपालमा प्याराग्लाइडिङ असुरक्षित रहेको सन्देश जाने उनले बताए। उनले अब अनुगमन गर्न नसक्ने हो भने मान्छे नै मर्नेगरी हुने दुर्घटना रोक्न उडान गर्नै दिन नहुने बताए। ‘अनुगमन गर्न सकिन्न भने सिफारिसको आधारमा दिइने उडान बन्द गर्दा राम्रो हुन्छ,’ बानियाँले भने, ‘कम्तीमा भद्रगोल हुन दिनुभएन। पहिल्यैदेखि नै भद्रगोल थियो, प्याराग्लाइडिमा अझ मनपरी बढ्दैछ।’

प्याराग्लाइडिङलाई अहिले नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नियमन गर्दै आएको छ। प्राधिकरणले भिसा, लाइसेन्सलगायतका प्रावधान हेरेर पोखराको आकाशमा उडान अनुमति दिन्छ। पोखरामा अहिले ५ दर्जनभन्दा बढी प्याराग्लाइडिङ कम्पनी छन्। पोखरा आएर उड्न चाहने विदेशी पाइलटलाई कुनै एक नेपाली कम्पनीको सिफारिसमा प्राधिकरणले एकपटकमा बढीमा १५ दिनका लागि उडान अनुमति दिन्छ। यसरी अनुमति दिँदा विदेशी पाइलटले ५० अमेरिकी डलर तिर्नुपर्छ।

‘हामीले निश्चित क्षेत्र तोकेर उडान अनुमति दिन्छौं। तोकिएको उचाइभन्दा बढीमा उड्न समेत पाइन्न,’ प्राधिकरण पोखराका प्रमुख भोलाप्रसाद गुरागाईं भन्छन्, ‘अन्तर्राष्ट्रियस्तरको लाइसेन्स पाएका पाइलट आउने भएकाले उनीहरु उडानमा सक्षम हुन्छन भन्ने ठानेका छौं।’ विशुद्ध साहसिक खेल गतिविधि भएकाले यसलाई नियमन गर्न भिन्दै निकाय बनाउने तयारी भइरहेको उनले बताए। ‘प्याराग्लाइडिङ इन्जिनले उड्ने होइन। हावाको वहावमा निर्भर रहेर उडने हो,’ गुरागाईंले भने, ‘त्यसैले हामीले भन्दा पनि पाइलट आफैं नियमन भएर उड्नुपर्छ। आकाशमा हावामा उड्नेलाई हामीले भुइँमा बसेर नियन्त्रण गर्न सक्दैनौं। हामीले जहाजलाई मात्र नियमन गर्न सक्छौं। प्याराग्लाइडिङ आफैं नियमन हुनुपर्छ।’

पोखराको आकाशमा प्यराग्लाइडिङ उड्न तीन ठाउँ (सराङकोट, तोरीपानी र मान्द्रेढुंगा) बाट अनुमति मिल्छ। तीमध्ये सराङकोट र तोरीपानीबाट उडेका प्याराग्लाइडिङ बढीमा ७ हजार र मान्दे्रढुंगाबाट उड्नेले ६ हजार फिट माथिसम्म मात्र उडन पाइन्छ। उडान हुने तीनवटै क्षेत्र झन्डै ५ हजार फिट उचाइमा छन्। पोखराको आकाशमा प्याराग्लाइडिङ उडानका लागि वर्षमा हजारौं विदेशी आउँछन्। तीमध्ये केही एकल (सोलो) उडानका पाइलट हुन्छन्। चालु आर्थिक वर्षमा मात्र प्राधिकरणले ८ सयजना भन्दा बढी सोलो पाइलटलाई उडान अनुमति दिएको छ। तीमध्ये झन्डै ३ सयजना नियमित उडानमा छन्। ‘सोलो उडानका विदेशी विभिन्न मुलुकमा उड्न पुग्छन। त्यही क्रममा नेपाल पनि आउँछन्। त्यसले पोखराको पर्यटनमा लाभ पु¥याएको छ,’ उनले भने, ‘सिजनअनुसार धेरै र थोरै संख्यामा आउने हुन्। यति बेला धेरै छन्।’
नेपाल ह्याङग्लाइडिङ एन्ड प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतका अनुसार यति बेला झन्डै ३ सयजना विदेशी पाइलट पोखरामा छन्। ‘सोलो पाइलट पोखरामा उड्नकै लागि आएका छन्। तीमध्ये कतिपय २÷३ महिनासम्म यहाँको आकाशमा उड्छन,’ रावतले भने, ‘यस्ता विदेशीबाट यहाँ व्यापार भए पनि कतिपयले गर्ने हेलचक्र्याँइले गर्दा समस्या भएको छ।’ रावतका अनुसार प्याराग्लाइडिङ नियमन गर्न भिन्दै निकाय नहुँदा यहाँ मनपरी हुने गरेको बताए। ‘नियमनकारी निकाय सक्रिय भए सबैतिर सहज हुन्थ्यो। तर यहाँ नियमन नै बलियो छैन,’ उनले भने, ‘त्यसले गर्दा मनपरी हुने गरेको छ।’

प्रकाशित: २० फाल्गुन २०७५ ०४:३० सोमबार

प्याराग्लाइडिङ एनएए दुर्घटना