काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकबाट ऋण मिलाइदिने भन्दै घुस माग्ने एक प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छिपहरमाई–४, पर्सास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रभु गिरीलाई नियन्त्रणमा लिएको हो। ‘हेटौंडाबाट खटिइगएको टोलीले उनलाई १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो’, अख्तियारले भनेको छ। बैंकका कर्मचारीलाई मिलाउनुपर्छ भनी सेवाग्राहीसँग घुसबापत पहिले नै ४० हजार लिइसकेको खुल्न आएको भन्दै अख्तियारले थप १२ हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
यसैगरी लेनदेनसम्बन्धी मुद्दा मिलाइदिने भन्दै घुस लिने जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा परेको लेनदेनसम्बन्धी मुद्दा मिलाइदिने भन्दै घुस लिने प्रशासकीय अधिकृत कैलाश मातछे श्रेष्ठलाई २५ हजार घुससहित नियन्त्रणमा लिइएको हो। घुस लिइरहेको सूचना प्राप्त गरेपछि टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही अघि बढाएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
प्रकाशित: २० फाल्गुन २०७५ ०४:२२ सोमबार