समाज

रसुवामा घर पुनर्निर्माणमा ३ अर्ब २४ करोड खर्च

रसुवा  – भूकम्पपछि निजी आवास पुनर्निर्माणका लागि रसुवामा ३ अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ। जिल्लामा ७६ प्रतिशत निजी आवास निर्माण भइसक्दा ३ अर्ब २४ करोड ३४ लाख ५० हजार रुपैयाँ खर्च भएको हो।

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (रसुवा)ले आइतबार धुन्चेमा पत्रकार सम्मेलन गरी निजी आवास पुनर्निर्माण, जोखिमयुक्त बस्तीको अवस्था र निजी आवासको वित्तीय प्रगतिबारे जानकारी गराएको हो। ११ हजार ७ सय २६ लाभग्राहीलाई पहिलो किस्ताबापत ५८ करोड ६३ लाख, १० हजार ७ सय ८० भूकम्पपीडितलाई दोस्रो किस्ताबापत १ अर्ब ६१ करोड ७० लाख र ९ हजार ४ सय ५७ परिवारलाई तेस्रो किस्ताबापत ९४ करोड ५७ लाख रुपैयाँ अनुदान वितरण भइसकेको कार्यालयले जानकारी दिएको छ।

भूकम्प गएको चार वर्ष हुनै लाग्दा जिल्लामा पुनर्निर्माणले गति लिएको आयोजना प्रमुख भरत कुमार थापाले बताए। ‘निजी आवास पुनर्निर्माणका हिसाबले भूकम्प प्रभावित जिल्लामध्ये रसुवा पहिलो नम्बरमा छ,’ उनले भने, ‘तर जोखिमयुक्त बस्तीका विस्थापितको स्थानान्तरणमा ढिलाइ भएको छ।’ समय सीमा निर्धारण, ग्रामीण सडक निर्माण र एककोठे घरसमेत स्वीकृत भएका कारण पुनर्निर्माणले गति लिएको हो। जिल्लाका १२ हजार ४ सय ९२ लाभग्राहीमध्ये ९४ प्रतिशत पीडितले पहिलो, ८६ प्रतिशत परिवारले दोस्रो र ७६ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बुझेको कार्यालयले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०३:०४ सोमबार

भूकम्प पुनर्निर्माण रसुवा