समाज

जेष्ठ नागरिकसँग प्रजातान्त्रिक योद्धा राईको जन्मजयन्ती

काठमाडौं– वि.सं. २००७ सालका प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको ११०औं जन्मजयन्ती काठमाडौं रविभवनस्थित आमाको घरमा आश्रित असहाय जेष्ठ नागरिकसँग मनाइएको छ। आश्रमकी सञ्चालक समाजसेवी दिलशोभा श्रेष्ठलाई खाद्यसामग्री हस्तान्तरण गरी राईको जन्मजयन्ती मनाइएको हो। 

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार प्रदीप नेपालले परोपकारी कार्यमा समर्पित श्रेष्ठको आश्रममा आश्रित जेष्ठ नागरिकका साथमा प्रजातान्त्रिक योद्धा राईको जन्मजयन्ती मनाइनु सार्थक कार्य भएको बताए। उनले नेपालको राजनीतिक परिवर्तनका लागि राईले पु¥याएको योगदानको नागरिकस्तरबाट उच्च मुल्यांकन भइरहेको भन्दै राज्यबाट पनि उचित सम्मान गरिनुपर्नेमा जोड दिए।

रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्की, सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्जकुमार राई, प्रतिष्ठानका कार्यवाहक अध्यक्ष देवीप्रसाद घिमिरे, कोषाध्यक्ष इन्दिरा पोखरेललगायतले प्रजातान्त्रिक योद्धा राईको योगदानका बारेमा चर्चा गरेका थिए। 

जन्मजयन्तीका अवसरमा गरेको सहयोगका लागि आमाको घरकी सञ्चालक दिलशोभा श्रेष्ठले आभार प्रकट गरिन। श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो। 

००७ सालको जनक्रान्तिमा पूर्वको कमान्डर रहेका राई ००८ सालमा भएको सिंहदरबार विद्रोहपछि बेपत्ता पारिएका थिए। शुक्रबार राईको जन्मजयन्तीको पूर्व सन्ध्यामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको थियो।

प्रकाशित: १९ फाल्गुन २०७५ ०५:४० आइतबार

रामप्रसाद_राई प्रजातान्त्रिक_योद्धा ११०औं_जन्मजयन्ती जेष्ठ_नागरिक