समाज

हिमपातले अवरुद्ध जुफाल विमानस्थल खुल्यो

डोल्पा – हिमपातले अवरुद्ध डोल्पाको जुफाल विमानस्थल ४ दिनपछि खुलेको छ। गएको मंगलबार रातीदेखि परेको अविरल बर्षापछि जुफाल विमानस्थलको धावनमार्गमा ४ देखि ५ फुट हिउँ जमेपछि बुधबारदेखि विमानस्थल अवरुद्ध भएको थियो।

धावनमार्गमा हिउँ जमेपछि अवरुद्ध भएको विमानस्थल शुक्रबार हिउँ फालेपछि शनिबारबाट संचालनमा आएको हो। ठूलीभेरी नगरपालिकाले शुक्रबार डोजर र मानिस लगाएर दिनभर हिउँ फालेपछि शनिबारबाट विमानस्थल संचालनमा आएको नगरप्रमुख गणेशबहादुर शाहीले बताए।

विमानस्थल खुलेसँगै आज नेपालगन्जबाट तारा एयर, समिट एयर, गोमा एयर र सिता एयरले हवाई उडान भरेको नेपाल नागरिक उडड्यान जुफालका प्रमुख बालकुमार सिँगले बताए। हिमपातले धावनमार्ग अवरुद्ध हुँदा डोल्पाबाट नेपालगन्ज सुर्खेत झर्ने तीन दर्जन बढी यात्रुहरू जुफाल विमानस्थलमा अलपत्र परेका थिए।

 

प्रकाशित: १८ फाल्गुन २०७५ ०९:५१ शनिबार

हिमपात डोल्पा जुफाल_विमानस्थल