समाज

विदेश भ्रमण जान गोलाप्रथा

बाँके - विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ। विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो। उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए।

“जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौँ”, वडाध्यक्ष राठौरले भने, “उपप्रमुख उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो।” उपप्रमुखले नमानेपछि उपमहानगरपालिका र काङ्ग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नुपरेको उहाँले बताए। गोलाप्रथा अनुसार उपप्रमुख थापामगर नै छनोटमा परेका छन्।

विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, काङ्ग्रेस र राप्रपालाई क्रमशः तीन/तीन र एउटा फोरमको भागमा परेको थियो। काङ्ग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिए पनि उपप्रमुखको ढिपीले काङ्ग्रेस निकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो।रासस

प्रकाशित: १८ फाल्गुन २०७५ ०८:२० शनिबार

विदेश_भ्रमण नेपालगञ्ज_उपमहानगरपालिका जनप्रतिनिधि गोलाप्रथा