समाज

भ्रष्टाचारविरुद्ध १८ सदस्यीय नागरिक निगरानी समूह गठन

सुर्खेत  - वीरेन्द्रनगरमा भ्रष्टाचारविरुद्धको ‘नागरिक निगरानी समूह’ गठन गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखाले सरोकारवालासँगको छलफलमा खिम रेग्मीको संयोजकत्वमा १८ सदस्यीय सो समूह गठन गरेको हो।

जनसहभागिताको अभ्यासबाट समाजमा हुने भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले लब्धप्रतिष्ठित व्यक्तिलाई समेटेर उक्त समूह गठन गरिएको शाखा प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले भन्नुभयो, “घुस माग्ने र दिने दुबैको खबरदारी गर्दै राष्ट्रसेवक कर्मचारी हरेकले आ–आफ्नो जिम्मेवारी पूरा गरौं।” उक्त शाखाका सूचना अधिकारी मेघनाथ सापकोटाले यस समूहलाई आयोगले वार्षिक एक/एक लाख रुपैयाँ बजेट सहयोग उपलब्ध गराउने जानकारी दिए।

प्रकाशित: १८ फाल्गुन २०७५ ०६:१५ शनिबार

भ्रष्टाचार निगरानी_समूह