समाज

अधिकारीसहित ६ को अन्त्येष्टि

काठमाडौं – ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सातमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ। मन्त्री अधिकारीको उनको गृहजिल्ला कास्कीको पोखरास्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। दुर्घटनामा निधन भएका अन्य ५ को भने पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी एवं यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको अन्त्येष्टि आइतबार गरिने भएको छ।

अधिकारीको पार्थिव शरीरमा जेठा छोरा विराज अधिकारीले दागबत्ती दिएका थिए। त्यसअघि स्वर्गीय अधिकारीप्रति नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो। अधिकारीको पार्थिव शरीर शुक्रबार मध्याह्न सबा १२ बजे सेनाको स्काई ट्रकबाट पोखरा पुर्‍याइएको थियो। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अधिकारीको शव श्रद्धाञ्जलीका लागि राखिएको थियो। उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न हजारौं कस्केली उपस्थित भए। पोखरामा अधिकारीको अन्तिम बिदाइका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्री गोकर्ण बिष्ट, नेकपा नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलगायत विभिन्न दलका नेता पुगेका थिए। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्री र सांसदले पनि अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरे। पोखरामा अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए। नेकपाको झन्डा भने नेता गौतम र श्रेष्ठले संयुक्तरुपमा ओढाएका थिए।

प्रदर्शनी केन्द्रमा अधिकारीको पार्थिव शरीर झन्डै दुई घन्टा राखिएको थियो। त्यसपछि शवयात्रा नयाँबजार, महेन्द्र पुल–रानीपौवा हुँदै क्षेत्रीय अस्पताल मार्गबाट रामघाट पुगेको थियो। अधिकारीका पत्नी विद्या, दुई छोरा विराज र स्वराज छन्। अधिकारीको काजकिरिया सात दिनमा सम्पन्न गरिने पारिवारिक स्रोतले बताएको छ।

यसअघि काठमाडौंको टुँडिखेलमा सातैजनाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको थियो। उनीहरूप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहितले श्रदाञ्जली अर्पण गरेका थिए। मन्त्री अधिकारीसहित सातजनाको पार्थिव शरीरमा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनले फूलमाला चढाएका थिए। प्रधानमन्त्री केपी ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाले अधिकारीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएको थिए। अधिकारी नेकपा केन्द्रीय सदस्य पनि थिए।

श्रद्धाञ्जलीका लागि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपासहित विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, सरकारी कर्मचारी, संवैधानिक निकायका अधिकारीहरू, कूटनीतिक नियोगका प्रमुख÷प्रतिनिधि, सुरक्षा निकायका अधिकारीहरू, सर्वसाधारण टुँडिखेल पुगेका थिए।

हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रवदास भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, चालक प्रभाकर केसी, पर्यटन व्यवसायी शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो। उनीहरू तेह्रथुमको चुहानडाँडामा बुधबार आयोजित कार्यक्रममा सहभागी भई ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गरेर फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परेका थिए। सातजनाको टोली चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न सोही दिन बिहान काठमाडौंबाट त्यहाँ पुगेको थियो। सातैजनाको शव बिहीबार त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याई पोस्टमार्टम गरिएको थियो।

प्रकाशित: १८ फाल्गुन २०७५ ०४:५४ शनिबार

ताप्लेजुङ हेलिकोप्टर_दुर्घटना अन्त्येष्टि