समाज

वैदिक–आधुनिक विज्ञान महासम्मेलन सुरु

काठमाडौं – नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा राजधानीमा शुक्रबारदेखि वैदिक–आधुनिक विज्ञान महासम्मेलन सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित महासम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।

उद्घाटनपछि मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले नेपाल ऋषिमुनि तथा ज्ञानीहरूको तपोभूमि भएकाले उनीहरूले प्रतिपादन गरेका संस्कृति र विचारलाई संरक्षण गर्नुपर्ने बताइन्। सरकारले अघि सारेको समृद्घ नेपालको नारालाई साकार पार्न वैदिक मूल्य–मान्यताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारिन्। ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतका विख्यात वैज्ञानिकहरूको उपस्थितिमा हुन लागेको यो सम्मेलनबाट आउने निचोड पक्कै उपयोगी हुनेछ,’ भण्डारीले भनिन्, ‘व्यक्ति, समाज, राष्ट्र र विश्वमा शान्ति, समृद्घि र भ्रातृत्व कायम गर्न यस्ता कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्छन् भन्ने मलाई लाग्छ।’

सार्क सदस्य मुलुक भारत र पाकिस्तानबीच तनाव बढिरहेको स्थितिमा शान्ति र सुव्यवस्था यस क्षेत्रका नागरिकको चाहना रहेको र शान्ति प्रवद्र्घन गर्न भविष्यमा पनि यस्ता सम्मेलन आयोजना गरिनुपर्ने विचार उनले व्यक्त गरिन्। वैदिक संस्कृति र परम्परामा भएका वैज्ञानिक पक्ष उजागर गरी आयोजना गरिएको सम्मेलनले विश्वमा नेपालप्रति सकारात्मक धारणा सञ्चार भएको उनको भनाइ थियो।

वैदिक संस्कृति संरक्षणमा लाग्न राष्ट्रपतिको आग्रह

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपक बास्कोटाले २०३१ सालमा नेपाल भ्रमणका बेला महर्षि महेश योगीले वैदिक संस्कृतिमा सम्पन्न नेपालले संसारलाई ‘लिड’ गर्नुपर्ने धारणा राखेको स्मरण गर्दै यसलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। महर्षि फाउन्डेसनले भावातीत ध्यान, गुरुकुल सञ्चालन, यज्ञ आदि सञ्चालन गरेर वातावरण संरक्षण तथा दिगो विकासलाई टेवा दिएको उनले स्पष्ट पारे। उनले राष्ट्रपति भण्डारीलाई भावातीत ध्यान सिक्न आग्रह गर्दै भने, ‘सम्माननीय राष्ट्रपतिलगायत उच्च राजनीतिक व्यक्तित्वहरूले ध्यान सिक्नुभएमा मुलुकको समृद्घि, विकास र शान्तिका लागि थप टेवा पुग्छ, यसबाट वैदिक मूल्य मान्यतासहितको शान्तिपूर्ण समृद्घ नेपाल निर्माण हुन्छ।’

सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै महर्षि युनिभर्सिटी अफ म्यानेजमेन्टका कुलपति, क्वान्टम फिजिसिस्ट, डा. जोन हेगलिनले वैदिक ज्ञान व्यवहारिक, प्रामाणिक र वैज्ञानिक भएको जिकिर गरे। ‘वैदिक परम्परा वास्तविक सत्यको सम्पूर्ण ज्ञान तथा व्यवहारिक पक्षमा आधारित छ, जसलाई वैज्ञानिकले ‘युनिफाइड फिल्ड’ भन्ने गर्छन्, वैदिक परम्परामा ‘आत्मा वा परम चैतन्य’ भन्ने गरिन्छ,’ डा. हेगलिनले भने।

कार्यक्रममा महर्षि फाउन्डेसनका भावातीत ध्यान शिक्षक माधव अर्यालले भावतीत ध्यान वैज्ञानिक ध्यान पद्घति भएकाले अमेरिका, युरोपलगायत विभिन्न मुलुकमा यो ध्यान अभ्यास गरेर लाखौं मानिसले फाइदा लिइरहेको चर्चा गरे। अमेरिका, युरोप, जापान, भारतलगायत मुलुकका वैज्ञानिक, अनुसन्धाता, साधुसन्त आदिको सहभागिता रहेको यो सम्मेलन आइतबारसम्म चल्ने छ। उद्घाटन कार्यक्रममा बटुकहरूले शान्ति कामना गर्दै वैदिक मन्त्रोच्चारण गरेका थिए।

प्रकाशित: १८ फाल्गुन २०७५ ०२:३९ शनिबार

नेपाल_महर्षि_वैदिक_फाउन्डेसन नेपाल_प्रज्ञा_प्रतिष्ठान विज्ञान_महासम्मेल