समाज

न्याय माग्न जाँदा जनप्रतिनिधि मिलेर कुटे

चोट देखाउँदै लक्ष्मीपुरपतारी गाउँपालिका २ पर्साका विष्णुदेव यादव। तस्बिर : मिथिलेश/नागरिक

लहान - पसलमा भएको चोरी घटनामा गाउँपालिकाले सत्यतथ्य निकाल्न छलफल डाक्ने बतायो। उक्त छलफलको समयबारे बुझ्न गएका लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सा टोलका एक पीडितमाथि गाउँपालिकाका अध्यक्ष नै कुटपिटमा उत्रिए। चोरी भएको पसल मालिक हुन्, विष्णुदेव यादव। उनै यादवमाथि गाउँपालिका अध्यक्ष यादवले कुटेका हुन्।

कुटपिटबाट यादवको दाहिने आँखा, निधार, दाहिने हातमा चोट लागेको छ। बिहीबार साँझ यादवले लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरार्रका स्मारक अस्पतालमा उपचार गराएर घर फर्केका छन्। मेडिकल रिपोर्टअनुसार उनको शरीरको विभिन्न भागमा चोट लागेको छ।

गाउँपालिका अध्यक्षसहित लगायतले कुटपिटको जानकारी यादवले इलाका प्रहरी कार्यालय लक्ष्मीपुरपतारी पुगेर इन्सपेक्टर श्रीकृष्ण श्रेष्ठलाई गराएका थिए। तर, इन्स्पेक्टर श्रेष्ठले लिखित जाहेरी ल्याउन आग्रह गरे। कुटाइको पीडा निको पार्न उपचारमा जानु कि जाहेरी लेख्ने लेखनदास खोज्नु, यादव अलमलमा परे। जाहेरी लेख्ने मान्छे भेटेनन् उनले। बरु उपचार गराएर उनी घर फर्के।

त्यस रात उनी सुत्न सकेनन्, न्याय माग्न जाँदा कुटाइ खाएको सम्झेर रोइरहे। त्यस दिन प्रहरीलाई आफ्नो नीलडाम देखाएर निसाफको याचना गरेका थिए, उनले। चार वर्ष वैदेशिक रोजगारीमा कतार बिताएर फर्केका हुन् यादव। गाउँमै कृही गर्छु भने। उनी गाउँमै मदिरा पसल चलाउँछन्। एक वर्षयता उनको पसलमा आठ पटक चोरी भइसकेको छ। उनले भने, ‘प्रहरीलाई भन्दा वास्ता नै हुँदैन।’

फागुन ८ गते बुधबार राति करिब १ बजे उनको पसलमा आठौं पटक चोरी भयो। उनले बिहान ३ बजे चोरीका सामानसहित चोरलाई पक्राउ गर्न खोजेका थिए। तर, चोरीमा संलग्नहरू धेरै भएकाले समाउन सकेनन्। तीमध्ये गाउँकै दुई जना युवालाई उनले चिने। चोरीका सामान जफत गर्न सकेका उनी वडाध्यक्ष धर्मेन्द्र रायसमक्ष गुहार माग्न पुगे। घटनामा संलग्नहरूको नाम पनि सुनाए। तर, रायले प्रहरीमा घटना नलग्न भन्दै गाउँमै न्याय दिलाइदिने आश्वासन दिए। वडाध्यक्षजस्तो मान्छेले भनेपछि उनले माने पनि।

न्याय नपाएपछि उनले गुनासो पोख्दै उनले भने, ‘आजभोलि भन्दाभन्दै मलाई झुलाए। गाउँमा न्याय नमिले पुलिसको जान्छुभन्दा पनि वडाध्यक्षले रोके। र, पत्रसहित गाउँपालिकामा पठाइदिए।' फागुन १० गते गाउँपालिकाको न्यायिक समितिले चोरी मुद्दालाई मिलाउने प्रयास गरे। पञ्चायतमा चोरी भएको घटना र यादवले दिएको चोरीमा संलग्नहरूको नाम जायज रहेको भन्दै दण्डको फैसला गर्ने न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष आशादेवीले बताइन्। तर, अध्यक्ष रामबलव साहले फेरि छलफल गरी टुंगो लगाउुनपर्छ भनी फागुन १६ गते समय तोकिदिएको उपाध्यक्ष यादवले बताइन्। तर, उक्त १६ गते छलफल हुनुअघि पीडितमाथि हातपात भयो। आफू पुग्नुअघि कुटपिटको घटना भएको उपाध्यक्ष आशादेवीले बताइन्।

अध्यक्ष साहले तोकेको समय फागुन १६ गते सरकारी बिदा परेकाले छलफल हुने नहुने बुझ्न गाउँपालिका जाँदा आफूले पिटाइ खाएको यादवले दुखेसो पोखे। ‘मैले गाउँपालिकामा रहेका अध्यक्षलाई अब के हुन्छ भनेर सोधेका थिएँ, उनले बिदा परेकाले नहुने भन्दै मलाई झपारे, फेरि कहिले हुन्छ भनी सोध्दा उल्टै गाली गरेर थप्पड बजारे’, उनले रुँदै बताए। 
 
अध्यक्षले कुटेपछि आफूमाथि सबै मिलेर लात, मुक्का बजारेको उनले बताए। हात छोडेपछि उनीसँग रहेका सबैले लात, मुक्का, बजार्दै नजिकैको पोखरीमा हुत्यादिएको यादवले भक्कानिँदै भने।

यसबारे गाउँपालिका अध्यक्ष साहलाई फोन सम्पर्क गरी सोध्दा उनले भने, ‘यादव गाउँपालिकामा आएका त थिए। चर्काचर्की पनि भयो, तर मैले कुटेको चै होइन है। चर्को स्वरमा तथानाम गाली गर्दै उनले फोन काटे।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुरपतारीका इन्सपेक्टर श्रेष्ठले चोरी र कुटपिट दुवै घटना आफूलाई थाहा नभएको उनले बताए। जाहेरी पनि नआएकाले यसबारे अनुसन्धान नभएको उनले भने। उनले थपे, ‘पीडितबाट जानकारी त आयो तर रीतपूर्वक आएन।

यस घटनालाई लिएर स्थानीय न्यायपालिका र जनप्रतिनिधिहरूले नै कानुनको उल्लघंन गरेको बताउँछन्, अधिवक्ता सन्तोष सुवेदी। चोरी मुद्दा प्रहरीमा दर्ता भएर अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोजन हुनुपर्ने कानुनी प्रावधान रहेको सुवेदीले बताए। 

प्रकाशित: १७ फाल्गुन २०७५ १३:५७ शुक्रबार

चोरी कुटपिट न्याय