समाज

श्रद्धाञ्जलीका लागि मन्त्री अधिकारीको शव प्रदर्शनी केन्द्रमा (भिडियाे/फाेटाे)

पोखरा– पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरास्थित प्रर्दशनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ। केहीबेरअघि उनको पार्थिव शरीरलाई पोखरा पुर्याइएको हो।

मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रद्धञ्जली दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्री गोकर्ण विष्ट, नेकपा नेता वामदेव गौतम, योगेश भट्टराई घनश्याम भुसाललयात पुगेका छन्।  श्रद्धाञ्जलीका लागि प्रदर्शनी केन्द्रमा नेकपा कार्यकर्तासँगै स्थानीयको बाक्लो भीड लागेको छ।

मन्त्री अधिकारीको पार्थिव शरीरलाई शवयात्रासहित आजै रामघाटमा अन्त्यष्टि गरिने प्रदेशसभा सदस्य राजीव पहारीले जानकारी दिए। शवयात्राको व्यवस्थापन गण्डकी प्रदेश सरकारले गरेको छ। मन्त्री अधिकारीको शवलाई पोखरा विमानस्थलबाट सिधै नयाँ बजारको प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि लगिने बताइएको छ।

त्यहाँ करिब दुई घण्टा श्रद्धाञ्जलीका लागि राखेपछि नयाँ बजारबाट महेन्द्र पुल–रानीपौवा हुँदै क्षेत्रीय अस्पताल मार्गबाट रामघाटमा पुर्याएर अन्त्यष्टि गरिने बताइएको छ।

प्रकाशित: १७ फाल्गुन २०७५ ०७:१८ शुक्रबार

रवीन्द्र_अधिकारी पार्थिव_शरीर प्रर्दशनी_केन्द्र