समाज

सुनसान सिंहदरबारमा संस्कृति मन्त्रीलाई श्रद्धाञ्जली

काठमाडौं - हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको सम्मानमा देशैभर शोक मनाउन बिहीबार सार्वजनिक बिदा दिएकाले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पनि सुनसान थियो।

ताप्लेजुङबाट काठमाडौं ल्याएर पोस्टमार्टमका लागि शिक्षण अस्पताल लैजाँदै गर्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भने अधिकारीसहित हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यती एयरलाइन्सका प्रवन्ध निर्देशक तथा उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्यन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टर चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको तस्बिरमा मन्त्रालयका केही कर्मचारीले श्रद्धाञ्जली अर्पण गरिरहेका थिए।

तर पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव परीक्षणमा समय लाग्ने भएपछि आज टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलि बिहान हुने भएको छ। श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ व्यक्तित्व, राजनीतिक दलका नेता टुँडिखेल जाने भनेपछि सर्वसाधारणको भिड टुँडिखेलमा बढेको थियो। तर, मन्त्रालयमा मन्त्री हुँदा भेटघाटदेखि व्यक्तिगत काम लिन पुग्ने नेता कार्यकर्ता तथा कर्मचारीहरुले भने बिहीबार संस्कृति मन्त्रालय सम्झेनन्।


तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार हेलिकप्टर दुर्घटनामा परेको थियो।

तस्बिरहरु : दिनेश लुइटेल/नागरिक

 

 

प्रकाशित: १६ फाल्गुन २०७५ १२:४२ बिहीबार

रवीन्द्र_अधिकारी हेलिकप्टर_दुर्घटना चुहानडाँडा श्रद्धाञ्जली