समाज

अमेरिकाले नेपाली सेनालाई सघाउने

काठमाडौं- नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकाका रक्षा सहायकमन्त्री जोसेफ फेल्टरले नेपाली सेनालाई दैवीप्रकोप उद्धार क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापासँग सोमवार जङ्गी अड्डामा भएको भेटमा उनले नेपाली शान्ति सैन्यले विश्व शान्ति स्थापनामा गरेको योगदानको प्रशंसा गर्दै शान्ति सैन्यका निम्ति पनि नेपाली सेनालाई सघाउने प्रतिबद्धता व्यक्त गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

यसैबीच प्रधानसेनापति थापासँग यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडीले पनि शिष्टाचार भेट गरे। त्यस अवसरमा उनीहरुबीच नेपाली सेना र युरोपेली सङ्घबीचको पारस्परिक सम्बन्धका साथै नेपाली सेनाको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएको निर्देशनालयले जनाएको छ। 

प्रकाशित: १३ फाल्गुन २०७५ १५:१४ सोमबार

नेपाली_सेना अमेरिका सहयोग