समाज

बलात्कारको आरोपमा तीन पक्राउ

राजविराज - शनिबार राति १० बजे इलाका प्रहरी कार्यालय रुपनीको टोलीले सप्तरीको रुपनी गाउँपालिका–१ का ३० वर्षीय देवेन्द्र यादवलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ। स्थानीय एक ३० वर्षीय महिलालाई उनकै घरमा थुनेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीको भनाइ छ। पीडित महिलाले अभियुक्तको नाम किटानीलगायतको व्यहोरासहित आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरीसमेत दर्ता गराएका छन्।

सप्तरी जिल्ला अदालतबाट आइतबार नै म्याद थप गरी अभियुक्तमाथि अनुसन्धान थालिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी भावेश रिमालले जानकारी दिए। पीडित महिलाका पति वैदेशिक रोजगारमा छन् भने उनका तीन नाबालक सन्तानसमेत छन्। अभियुक्तले यसअघि पनि पटकपटक बलात्कार गरेको तथा विभिन्न धाकधम्की देखाउँदै प्रहरी वा अन्य कतै नबोल्न भन्दै त्रासमा पार्दै आएको पीडितको आरोप छ। घटना सार्वजनिक भएपछि स्थानीयहरूमा अभियुक्तप्रति निकै आक्रोश देखिएको छ।

यसअघि शुक्रबार सप्तरीकै कञ्चनरूप नगरपालिका–५ मा बोल्न नसक्ने एक २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय भीम मुखिया र भरत मुखिया रहेको प्रहरीले जनाएको छ। पीडित युवतीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:१५ सोमबार

बलात्कार पीडित अभियुक्त पक्राउ