समाज

हत्या आरोपमा चार पक्राउ

भक्तपुर – भक्तपुरमा आफ्नै गाडीभित्र अचेत भेटिएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। बा ५ च ६४८१ नम्बरको आफ्नै भ्यानभित्र अचेत भेटिएका सूर्यविनायक नगरपालिका–८, आर्दशका २६ वर्षीय निकेश भुजुको मृत्यु भएको हो।

पीडित परिवारका अनुसार उनी गाडी लिएर शनिबार बिहान ९ बजे घरबाट निस्केका थिए। तर बेलुका ६ बजेसम्म सम्पर्कमा नआई मोबाइलसमेत अफ भएपछि भुजुकी श्रीमतीले जगातीस्थित महानगरीय प्रहरी वृत्तमा मौखिक उजुरी दिएकी थिइन्। खोजतलासका क्रममा सोही साँझ पौन ७ बजेतिर उनी भक्तपुर नगरपालिका–८, लिवालीमा आफ्नै गाडीभित्र अचेत भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरले जनाएको छ। तत्काल उद्धार गरी भक्तपुर अस्पताल लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए।

यसैबीच उनको हत्या भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का २५ वर्षीय सुमन बाला, दाङको हापुर गाउँपालिका वडा नं. ४ का १९ वर्षीय भूपबहादुर रोका, सिन्धुपाल्चोकको मार्मिङ गाउँपालिका वडा नं. १, ट्याङथलीका २६ वर्षीय किरण श्रेष्ठ र भक्तपुर ताथलीका २१ वर्षीय सुकु भन्ने राज बनमालालाई पक्राउ गरिएको हो। घटनाको अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App