समाज

जुगल हिमाल आरोहणको अन्तिम तयारी, सगरमाथा आरोही मायाले ‘लिड’ गर्ने

काठमाडौं– जुगल हिमाल आरोहणको तयारी अन्तिम चरणमा पुगेको छ। पहिलो पटक हुन लागेको आरोहणको नेतृत्व सगरमाथा आरोही माया गुरुङले गर्दैछिन। गुरुङ नेतृत्वको टोली आरोहणका लागि चैत १५ गते त्यसतर्फ लाग्नेछ। 

जुगल गाउँपालिका र प्रदेश नम्बर तीनको संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले बुधबार पत्रकार सम्मेलन गरेर हिमाल आरोहणबारे जानकारी दिएको छ। यो आरोहण अवघि कम्तिमा २० देखि ३० दिनसम्म हुने बताइएको छ। 

जुगल हिमाल आरोहणको नेतृत्व गरिरहेकी माया गुरुङका अनुसार सो हिमाल अहिलेसम्म कसैले पनि आरोहण गरेका छैनन्। सगरमाथा आरोही गुरुङले जुगल हिमश्रृङ्खलामा अहिलेसम्म मानव पाइला नपुगेको भर्जिन क्षेत्र भएकोले सो कार्यक्रम हिमाल आरोहणमा मात्र नभएर सम्भाव्यता अध्ययन, रुट पहिचान तथा निर्धारण लगायतका कार्यमा पनि केन्द्रीत हुने जानकारी दिइन्। उनका अनुसार टोलीमा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेका नाति, पर्वतारोहण विज्ञसहित सातजना समावेश हुनेछन्। 

जुगल हिमश्रृङ्खलामा २ दर्जन भन्दा बढी हिम चुचुराहरु रहेको प्रारम्भिक अध्ययनले देखाएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। उनले जुगल हिमाल आरोहणका क्रममा पुगिने नेपेमाशालमा धार्मिक दृष्टिले पवित्र स्थान भएको जानकारी दिए। 

सो स्थानमा बौद्ध धर्मका गुरु पद्यमसम्भाले ध्यान गरेको तथा भविष्यमा हुन सक्ने विभिन्न परिघटनाका भविष्यवाणीको लिखतहरु यस क्षेत्रमा सुरक्षित राखिएको किंमदन्ती भएको बताउँदै अध्यक्ष श्रेष्ठले नेपेमाशाल नजिकै रहेको ब्रहायणी नदी, हरियाली जंगल, जंगलमार्गमा रहेको हजार जना अट्ने गुफा र त्यसैको आडमा रहेको जुगल हिमश्रृखलाको सुन्दरतम दृश्यले जो कोहीलाई पनि मोहित बनाउने सक्ने दावी गरे। 

उनले जुगल गाउँपालिकाले पर्यटन विकासलाई महत्व दिएर अगाडि बढेको बताउँदै छोटो समयमा र थोरै खर्चमा ट्रेकिङ जान चाहनेहरुको लागि जुगल उत्कृष्ट गन्तव्य हुनसक्ने बताए। श्रेष्ठले भ्रमण बर्ष २०२० का लागि सूचीकृत गन्तव्यका रुपमा यस क्षेत्रलाई राख्नका लागि पनि सम्बद्ध निकाय समक्ष आग्रह गरे।

प्रकाशित: ८ फाल्गुन २०७५ १०:११ बुधबार

जुगल_हिमाल आरोहण सिन्धु_पर्यटन_परिषद् माया_गुरुङ