समाज

बाँदर समात्न थाले भारतीय सिकारीले

खोटाङको लफ्याङमा जालमा पारेर खोरमा थुनिएको बाँदर। तस्बिर : नागरिक

खोटाङ – नजिकका राष्ट्रिय निकुञ्जमा पुर्याउन खोटाङमा बाँदर समात्न थालिएको छ। अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समातेर निकुञ्ज पुर्याउन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाऊ अभियान’ थालिएको हो।

बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईका अनुसार भारतको उत्तरप्रदेशबाट झिकाइएका सिकारीले मंगलबार उक्त नगरपालिकाको वडा नम्बर ५, लफ्याङको लुछिममा २५ वटा बाँदर समातेका छन्। बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो। त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ का वडाध्यक्ष निर्मल राईले जानकाी दिए। यस्तै खर्काका दुई स्थानमा पनि बाँदरलाई जाल थाप्ने तयारी भइरहेको समितिले जनाएको छ।

खेतबारीका मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले नष्ट गरेर हैरान पारेपछि तिनलाई समात्न नगरपालिकाकै आर्थिक सहयोगमा भारतीय सिकारी खोटाङ झिाइएको हो। बाँदर समात्न गत माघ २१ गते दिक्तेल आइपुगेका दुई भारतीय सिकारीले यही फागुन ३ गते आफ्ना थप तीन सदस्य ल्याएर बाँदर समात्न थालेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाभित्रका १५ वडाका किसानलाई दुःख दिइरहेका बाँदर समातेर निकुञ्ज पुर्याउन नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ। एउटा बाँदर समातेबापत सिकारीलाई दुई हजार रुपैयाँ पारिश्रमिक दिने व्यवस्था गरिएको छ। आगामी जेठ मसान्तभित्रमा २ सय ५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको अध्यक्ष घिमिरेले जानकारी दिए।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:५८ बुधबार

राष्ट्रिय_निकुञ्ज खोटाङ बाँदर भारतीय_सिकारी