समाज

अवैध सम्बन्धबाट जन्मेको शिशु हत्यामा संलग्न दुई पक्राउ

रुकुम– नवजात शिशुको हत्या आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको दार्मा गाउँपालिका–१ की २० वर्षीया लालमाया बुढा र सोही ठाउँमा ३३ वर्षीय केशव सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुढा र सुनारको अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

माघ १६ गते राति लालमायाले आफ्नै घरमा बच्चा जन्माई हत्या गरेर नजिकैको गहुँबारीमा गाडेको गोप्य सूचना आएपछि प्रहरीले खोजी गरेको थियो। अवैध सम्बन्धबाट बच्चा जन्मेपछि दुवै जनाको सल्लाहमा शिशुको हत्या गरेको उनीहरुले स्वीकार गरेको डीएसपी शाहीले बताए।

लालमायाका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा मलेसियामा छन्। पक्राउ परेका दुवैलाई सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत सल्यान पेस गरिएको प्रहरीले बताएको छ। अदालतको आदेशअनुसार दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: ७ फाल्गुन २०७५ १५:१७ मंगलबार

अवैध_सम्बन्ध शिशु_हत्या रुकुम