समाज

विवाहको १९ वर्षपछि बल्ल नागरिकता

सर्लाही- यहाँकी एक महिला विवाह गरेको १९ वर्षपछि पतिको नामबाट नागरिकता लिन सफल भएकी छिन्। लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ३५ वर्षीया आशाकुमारी देवीले आइतबार इलाका प्रशासन कार्यालय (हरिवन)बाट नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्।

ससुरा गंगालाल ठाकुर र पति रामनन्दन ठाकुरले नागरिकता बनाइदिन नमानेपछि मानव अधिकारवादी, पत्रकार लगायतको सहयोगमा ठूलो संघर्षपछि आफू नागरिकता लिन सफल भएको उनले बताइन्। जिल्लाकै धनगढा माइती भएकी आशाकुमारीको विवाह स्थानीय रामनन्दनसँग २०५६ सालमा भएको थियो। पछि उनको परिवार जुटपानीमा बसाइँ सरेको हो।

‘जति भन्दा पनि श्रीमान् र ससुराले नागरिकता बनाइदिन मानेनन्,’ नागरिकता लिएपछि खुसी हुँदै उनले भनिन्,‘अनि मानव अधिकारवादी, पत्रकार लगायतलाई गुहारेर आज नागरिकता हात पारें।’ जग्गा दाइजो मागेको र माइतीले दिन नसक्दा ससुरा र पतिले विवाह गरेको लामो समय हुँदा पनि नागरिकता नबनाइदिएको उनले गुनासो गरिन्।

साविक धनगढा गाविसमा २०६२ सालमै विवाह दर्ता गरे पनि दाइजोलगायत विविध कारणले आफूलाई नागरिकता बनाउन ससुरा र पतिले रोकेको उनले बताइन्। ‘जेठी छोरी मनीषा १७ वर्ष तथा छोरा करण १५ वर्षका भइसके,’ आशाकुमारीले सुनाइन्, ‘छोराछोरीको नागरिकता बनाउने उमेर भइसक्दा बल्ल आफू नागरिकता हात पार्न सफल भएँ।’

नागरिकता बनाउन आग्रह गर्दा पतिलगायत परिवारका सदस्यबाट पटक–पटक कुटाइसमेत खानुपरेको उनले गुनासो गरिन्। काठमाडौंमा फर्निचरको काम गर्ने पति रामनन्दनले अर्को विवाहसमेत गरिसकेको र पुसमा आफूले थाहा पाएको आशाकुमारीको दाबी छ। ‘अहिले त उहाँले अदालतमा मविरुद्ध सम्बन्ध विच्छेदको मुद्दासमेत दायर गर्नुभएको छ,’ उनले सुनाइन्, ‘ठूलो संघर्षपछि नागरिकता त हात पारें, अब सम्बन्ध विच्छेदको मुद्दाको सामना गर्नुपर्ने अवस्था आइपरेको छ।’

आशालाई नागरिकता दिलाउन निकै संघर्ष गरेका नेपाल मानव अधिकार संगठन (सर्लाही)का अध्यक्ष रजनीकान्त झाले मधेसमा यस्तो समस्या विकराल रहेको बताए। ‘आशा त एउटा प्रतिनिधि पात्र मात्र हुन्, मागेजति दाइजो नपाउँदा र पत्नीले हक खोज्छन् भन्ने सोचले मधेसमा विवाहित महिलाले नागरिकता नपाउने समस्या विकराल छ,’ झाले भने, ‘नागरिकता त परै जाओस्, घरपरिवारले विवाह दर्तासमेत गर्दिदैनन्।’

 

प्रकाशित: ६ फाल्गुन २०७५ ०३:०८ सोमबार

विवाह नागरिकता