समाज

लागुऔषध कारोबारीको ‘अखडा’ बन्दै

लहान - भारतबाट भित्र्याइएको नौ सय १७ एम्पुल लागूऔषध सुईसहित बुधबार उदयपुर त्रियुगा नगरपालिका–६ जलजलेका गणेश गुप्ता र ओमप्रकाश राईलाई उदयपुर प्रहरीले नियन्त्रणमा लियो। सोही दिन भारतबाटै भित्र्याइएको पाँच सय ९८ एम्पुल लागूऔषध सुईसहित सिरहा नगरपालिका–१७ पटेर्वाबाट धनुषा जनकनन्दनी गाउँपालिका–२ का बब्लुकुमार यादवलाई सिरहा प्रहरीले पक्राउ गर्‍यो। त्यसैको अघिल्लो दिन मंगलबार भारतबाटै ल्याइएको १४ थान नाइट्रोभेट ट्याब्लेटसहित उदयपुर कटारी नगरपालिका–४ का बाबा तामाङ, सिरहा नगरपालिका–१ का गणेश पासवान र सोही ठाउँका राजेश भनिने अर्का एक युवक पक्राउ परे।

त्यसैगरी बिहीबार भारतबाटै भित्र्याइएको ८४ बोतल लागूऔषधसहित भंगहा नगरपालिका–१ का अजय मण्डल र रामजी मण्डल महोत्तरी प्रहरीको नियन्त्रणमा परे। त्यसैको तीन दिनअघि सोमबार पनि भारतबाटै भिœयाइएको डाइलेक्स डिसी ९१ बोतल, नाइट्रोसन २० चक्की र पेन्टाल्याब २१ एम्पुलसहित सिरहा नरहा गाउँपालिका–३ बाट सिरहा गोलबजार नगरपालिका–८ का दीपेन्द्र यादव र उदयपुर कटारी नगरपालिका–१ का गोकर्ण थापा प्रहरीको फन्दामा परे। उदयपुर, महोत्तरी र सिरहाका प्रहरीले पछिल्लो समय लागूऔषधसहित पक्राउ गरेका यी कारोबारीहरू केही उदाहरण मात्रै हुन्। लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा महिनैपिच्छे थुप्रै पक्राउ पर्दै आएका छन्। तर कारोबार घट्नुको सट्टा दिनानुदिन बढिरहेको छ।

लागूऔषधका कारोबारीहरूले सञ्जाल नै स्थापना गरेर प्रदेश २ अन्तर्गतका सीमावर्ती जिल्लाबाट निष्फिक्री कारोबार चलाइरहेको पाइएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो। भारतीय सहरका विभिन्न औषधिपसलबाट भित्र्याइने लागूऔषध यहाँबाट विभिन्न ठाउँमा पुग्ने गरेको छ। भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षादृष्टि पुर्‍याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखनलगायत कारणले प्रदेश २ लागूऔषध कारोबारीको अखडा बन्दै आएको छ। सिरहा, सप्तरी, महोत्तरीलगायत जिल्लामार्फत पहाडी जिल्ला र राजधानीलगायत धेरै सहरमा लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ।

लागूऔषध अभियन्ता एवं लहान नगरपालिका–७ का वडाध्यक्ष राकेश गुप्ता लहानलगायत सहर हुँदै अन्यत्र ओासरपसार हुने लागूऔषध र कारोबारी संख्या धेरै भएको बताउँछन्। ‘लहानमा प्रयोगकर्ता पहिलेभन्दा धेरै बढेको छ,’ उनी भन्छन्, ‘लहानमै धेरै कारोबारी पनि छन्। यसको अर्थ हाम्रो सहर ट्रान्जिटका रूपमा बढी प्रयोग भइरहेको छ।’ उनका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार दुई–चारजना कारोबारी समातेको भरमा तोड्न कठिन छ।

लागूऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट प्रदेश २ का सीमावर्ती सहरहरू हुने गरेका छन्। सिरहालगायत जिल्लाका प्रहरीले केही समयको फरकमा कारोबारीहरू समात्न थालेको लामो समय भइसकेको छ। तर कारोबारीहरूको सक्रियता पटक्कै घटेको छैन, झन्झन् बढ्दो छ। यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरू बताउँछन्। सिरहाका एसिपी जीवन श्रेष्ठका अनुसार खुला सिमानाका कारण नियन्त्रण चुनौतीपूर्ण बनेको छ। गत आर्थिक वर्ष २०७४÷७५ मा लागूऔषधअन्तर्गत दर्ता भएको ६७ मुद्दामा एक सय दुईजना पक्राउ परेका थिए। चालू आर्थिक वर्षको साउनदेखि माघसम्म लागूऔषधअन्तर्गत ७१ मुद्दा दर्ता भएका छन्। जसमा एक सय चारजना पक्राउ परिसकेका छन्। यो तथ्यांकले पनि लागूऔषधको कारोबारी बढ्दै गएको देखाउँछ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार गत आर्थिक वर्षमा २०७४÷७५ प्रदेश २ का आठवटै जिल्लामा लागूऔषधअन्तर्गत चार सय ८७ मुद्दा दर्ता भएका थिए। जसमा सात सय १४ जना पक्राउ परे। चालू आर्थिक वर्षको साउनदेखि पुससम्म तीन सय ३४ मुद्दा दर्ता भएका छन्। जसमा पाँच सय ६ जना पक्राउ परेको तथ्यांक छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी छ। गत वर्ष र यस वर्ष पक्राउ परेकाहरूको तथ्यांक केलाउँदा लागूऔषध कारोबारी र प्रयोगकर्ता १६ देखि २५ वर्ष उमेर समूहका युवा धेरै छन्। थापाका अनुसार यस प्रदेशमा बढ्दो लागूऔषध कारोबारीको सञ्जाल भत्काउन शून्य सहनशीलता अपनाएर कारबाही तीव्र पारिएको छ। जसको परिणाम पक्राउ पर्नेको संख्यामा वृद्धि भएको उनको दाबी छ।

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागूऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौं मात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागूऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागू औषधको डरलाग्दो भुमरीमा फँसिरहेका छन्। लागूऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सीमापारि, मधेस र पहाडका युवाहरुको त्रिकोणात्मक सञ्जालले लागूऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारिबाट वारिको सहरसम्म ल्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाको सहरसम्म पुर्‍याउने र तेस्रो समूह काठमाडौंलगायत ठूला सहरसम्म लागूऔषध पुर्‍याउन गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०७५ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App