समाज

चट्याङले एकको मृत्यु, नौ घाइते

पाँचथर - पानीसँगै परेको चट्याङ्ले पाँचथरमा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। शनिबार साँझ चट्याङले फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए। चट्याङले उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन्।

घाइतेको पाँचथर जिल्ला अस्पतामा प्राथमिक उपचारपछि अन्यत्र रिफर गरिएको छ। चट्याङ लागेर घाइते भएपछि प्रहरीको गाडीले उद्धार गरी जिल्ला अस्पताल ल्याएको थियो। काकाको घरमा खेल्दै गर्दा पानी परेपछि बरन्डामा ओत लाग्दै गर्दा चट्याङ परेको डीएसपी कुँवरले जानकारी दिए। यस्तै फालेलुङ गाउँपालिका –५ प्राङवुङमा चट्याङ पर्दा आठ जना घाइते भएका छन्। प्रहरीका अनुसार स्थानीय फौदामान तामाङको घरमा चट्याङ परेको थियो।

 

प्रकाशित: ४ फाल्गुन २०७५ १२:५१ शनिबार

चट्याङ