समाज

गजेन्द्रराज अक्षयकोष स्थापना, गरिब विरामीको उपचारमा खर्च गरिने

काठमाडौं– राजधानीको केन्द्रमा रहेको वीर अस्पतालमा १० लाखको गजेन्द्रराज अक्षय कोष स्थापना भएको छ।

शुक्रबार बीर अस्पतालमा आयोजित कार्यक्रममा स्वर्गीय गजेन्द्रराज जोशीका छोराहरु नवीन्द्रराज जोशी र राजुराज जोशी तथा श्रीमती गीता जोशीले १० लाख रुपयाँको चेक अस्पताललाई हस्तान्तरण गरेका हुन। नेपाली काँग्रेसका केन्दीय सदस्य तथा पूर्व उद्योगमन्त्री समेत रहेका नवीन्द्रराज जोशीले बुवाको अन्तिम इच्छा भनेको गरिब तथा आर्थिक अवस्था कमजोर भएका विरामीलाई सहयोग गर्न रहेकोले सोही अनुसार अक्षयकोष स्थापना गरिएको बताए।

साथै पूर्वमन्त्री जोशीले यो अक्षयकोष सुरुवात मात्रै भएको र विस्तारै अक्षयकोषको रकम बढाउँदै लगिने जनाएका छन्। यसरी अक्षयकोष स्थापना गर्दा अरु सहयोग गर्ने चाहना भएकालाई समेत प्रोत्साहन हुने भएकाले आउँदा दिनहरुमा यसरी सहयोग गर्ने मनहरु बढ्दै जाने उनको दाबी थियो। 

कार्यक्रममा वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र कुमार बस्नेतले अक्षयकोषको रकमलाई पारदर्शी हिसाबले विरामीहरुको उपचारमा खर्च गरिने बताएका छन्। प्रत्येक वर्ष एउटा विभागका विरामीलाई उपचारमा सहयोग गर्न अक्षयकोषको रकम खर्च गरिने बस्नेतले स्पष्ट पारेका छन्।

कलेजोको रोगले ग्रसित गजेन्द्रराज जोशीको वि.स. २०७४/१०/५ गते वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। 

प्रकाशित: ३ फाल्गुन २०७५ १४:४४ शुक्रबार

गजेन्द्रराज_अक्षय_कोष बीर_अस्पताल गरिब_विरामी सहयाेग