काठमाडौं- राजनीतिमा प्रेम सजिलो छैन्। झन् पञ्चायतकालमा त कतिखेर कहाँ पक्रराउ परिने हो वा मारिने हो भन्ने निश्चित हुँदैनथ्यो। त्यो समयमा राजनीति र प्रेममा सफल बनेका विश्वप्रकाश शर्मा सबैका लागि प्रेरणाको पात्र बनेका छन्। अहिले नेपाली कांग्रेसको प्रवक्ता रहेका विश्वप्रकाश राजनीतिक वृतमा सफल प्रेमीका रुपमा चिनिन्छन्। राजनीतिककर्मीले त उनलाई ‘लभ गुरु’ नै मान्ने गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराई समेत उनको सफल प्रेम सम्बन्धबाट प्रभावित छन्। प्रणय दिवस (भ्यालेन्टाइन डे) सप्ताहको अवसरमा यो पंक्तिकारसँगको कुराकानीमा भट्टराईले विश्वप्रकाशको प्रेम सम्बन्ध सबैका लागि उदाहरणीय रहेको बताए।
अखिल नेताकी बहिनीसँग प्रेम
राजनीतिमा प्रखर नेताको पहिचान बनाएका विश्वप्रकाशको प्रेम तत्कालिन नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नेताकी बहिनी कविता शर्मासँग बसेको थियो। पछि उनैसँग विहे गरे।
मेरो लभपछि एरेञ्ज म्यारिज हो। सामान्यतया युवा उमेरमा धेरैलाई मन पराउने हुन्छ, यो स्वभाविक हो। तर माया गर्ने फरक कुरा हो। माया पनि दुई खालको हुन्छ। खासगरी १६ देखि २२ वर्ष उमेरमा पञ्चायतविरुको संघर्षमा लाग्दा कहिले जेल त कहिले भुमिगत बसियो। मैले ३० वर्षको उमेरमा विहे गरे। विहे गर्नका लागि केटी मामाले हेरे, फुपुले हेरे, अरुले हेरे। तर म आफ्नै हिसाबले विवाह गर्दैगर्दा राजनीतिक मान्छेलाई भोलि सत्तामा पनि पुगिन्छ, शहीद पनि हुन सकिन्छ। यी दुई कुरामा उपयोगी साहस राख्ने मान्छे चाहिन्छ भन्ने विचार गरेर प्रेम र बिहे गरे। प्रेममा मन पनि पर्नुपर्यो, व्यवहारिक पनि हुनुपर्यो। त्यस हिसाबले मैले कविता शर्माजीलाई माया पनि गरे, विहे पनि।
हामी एउटै जिल्लावासी। उहाँको दाजु केदार पोखरेल मेची क्याम्पस पढ्नुहुन्थ्यो। अनेरास्ववियुमा हुनुहुन्थ्यो। अखिलकै बहिनी विहे गरे भनौ न। अखिल कार्यकर्ताकी बहिनी नेविसंघले विवाह गर्यो यस्तो पनि देखियो। उहाँको दाईसँग सम्पर्क सम्बन्ध थियो। उनी (कविता) नर्सिङ पेसामा थिइन। धुलाबारी एउटा स्वास्थ्य केन्द्रमा कामले गइरहन्थे, विरामी भेट्न। त्यसबेलादेखि भेट हुन थाल्यो। पछि काठमाडौंमा हुँदा उनी सत्यसा स्कुलमा होस्टेलको वार्डेन थिइन। त्यस हिसाबले सम्पर्क हुने कुरा स्वभाविक हो। तर एकदमै अब एकै नजरमा माया बस्यो भन्ने खालको पनि होइन। अथवा 'आइ लभ यु' भनेर पनि होइन शालिन ढंगले परिपक्व हिसाबले हाम्रो प्रेम अघि बढ्यो। त्यसैले गृहस्थ जीवनलाई केन्द्रमा राखेर गरिएको प्रेम थियो यो।
हामीबीच १० वर्षको फरक छ। उनी आफ्नो पढाईपछि होस्टलमा थिइन, म विद्यार्थी राजनीतिमा। भेटघाट पनि कस्तो हुन्थ्यो भन्दा नेपाल विद्यार्थी संघको कार्यक्रममा उनलाई बोलाउने, अहिलेको जस्तो मोबाइल फोन प्रशस्त थिएन। मेरो कोठामा ल्याण्ड लाइन थियो। त्यहीबाट स्कुलको होस्टलमा फोन गरेर खबर आदानप्रदान हुन्थ्यो।
लभ लेटर लेखिएन। हाकाहाकी उनलाई मनपराएको कुरा भने। मैले प्रेमको कुरा भन्दा पनि सिधै विहेको कुरा अभिव्यक्त गरे। कुनै बीचमा नरोकिने ननस्टप गाडीजस्तो कुरा गरियो। विहे डेढ वर्षपछि गरियो।
उनको पनि विहे यसै गर्ने हो भन्ने थियो। उनलाई मैले व्यवहारिकताका साथ बुझाउने प्रयत्न गरेको थिए कि एउटा राजनीतिक मान्छेले कस्तो श्रीमती चाहन्छ भनेर। उनलाई पनि यो सँगको विवाह ठिक हुन्छ कि हुँदैन भन्ने थियो। त्यसकारण सोची समझदारीपूर्वक भएको थियो, संयममतापूर्वक गरिएको प्रेम र धेर्यतापूर्वक गरिएको विहे थियो।
४३ सालतिर आइए पढ्दै गर्दा बन्द राजनीतिका कारणले प्रेम पनि बन्द बन्द अवस्थामा थियो। अहिलेका युवाजस्तो अवस्था थिएन। प्रेमको कुरा दायरामा थियो।
प्रेममा राजनीतिक आस्था हेरिँदैन
पारिवारिक वातावरणमा डेटिङ
विहे फाइनल भइसकेपछि हाम्रो भेट कि त कार्यक्रममा हुन्थ्यो कि पारिवारिक वातावरणमा। त्यतिखेर काठमाडौंमा राष्ट्रिय सभागृहमा पुस २७ गते मेलमिलाप दिवस कार्यक्रममा उनलाई बोलाए। चावहिलमा मेरो कोठा धर्मशालाजस्तो थियो। दाजुभाउजुका साथै अन्य साथीभाईहरु हुन्थे। उनी त्यहाँ आउँथिन। त्यसकारण पारिवारिक वातावरणमा भेट हुन्थ्यो। त्यस्तो अलग्गै डेटिङ जाने, नगरकोट जाने, खुसुक्क हिड्ने भन्ने भएन। म उनलाई होस्टल पुर्याउन जान्थे। त्यही समयमा मैले उनलाई बुझाउनुपर्ने कतिपय सन्दर्भ बुझाउथें। एकपटक रेष्टुरेन्ट गएको बेला उनलाई संसारको सबभन्दा मिठो कुरा के भन्दा उनले चाउमिन अर्डर गरेकी थिइन। मैले उनलाई बुझाएको थिए यो त खाद्य पदार्थ हो, संसारको सबभन्दा मिठो कुरा त बोली बचन हो भने। गिफ्टको कुरा गर्ने हो भने मैले उनलाई कुनै गिफ्ट दिएको छैन्। उ आफै मेरो लागि गिफ्ट हो। म आफै उसको लागि प्रेमको उपहार हो।
टेलिभिजन ल्याउँदाको महत्वपूर्ण खुसी
जस्तो मैले विहे गर्दैगर्दा कोठामा एउटा खाट र कुनामा भात पकाउने स्टोभ थियो। म मध्यम वर्गीय परिवारको मान्छे काठमाडौं घर लिएर बस्न सक्थें। तर एउटा सानो कोठामा बसेर म नेविसंघको सभापति भएको थिएँ। त्यही कोठामा मैले उनलाई भित्र्याएको हुँ। त्यसको ३ महिनापछि मात्रै एउटा कोठा र किचन भएको ठाउँमा सरे। त्यो सर्दाखेरी उनलाई (ग्राजुएल एम्बिसन) आनन्द महसुस भयो। त्यसको १ वर्षपछि मात्रै दुईटा कोठा र एउटा किचन भएकोमा सर्यौं। त्यो २ वर्ष पुग्दैगर्दा मात्रै मेरो कोठामा टेलिभिजन आयो। टेलिभिजन किन्न नसक्ने अवस्था होइन। अहिले उनले भन्ने गर्छिन मेरो बुढाले विस्तारै विस्तारै संयोजन गरे। अहिले म सम्झिन्छु चित्त बुझ्छ। त्यसबेला कसौटी जिन्दगी, कुमकुम, कहानी घर घरकी जस्ता प्रसिद्ध सिरियल हेर्न घरबेटीकोमा जानुपथ्र्यो। तर जुन कोठामा टेलिभिजन आयो, फ्ल्याट छ, सिटिङ रुम छ, आफ्नो भन्ने छ, आफै आत्मनिर्भर भएर आफ्नै टेलिभिजन हेर्दाखेरी जुन उनको अनुहार खुसी थियो त्यो महत्वपूर्ण थियो। हरेक श्रीमान श्रीमतीको सम्बन्धमा यस्तो मेटरियल हुन्छ, सहजताको, खुसीको, विलासिताको। यी कुरालाई क्रमश क्रमश पूरा गर्दै जाँदा पारिवारिक जीवन सहज बनाउँछ।
साहित्यिक पाटो
मेची क्याम्पसमा पढ्दै गर्दा मरो परिचय यसले खरो कविता पनि लेख्छ भन्ने थियो। कविता, गीतहरु लेख्थे। २०४६ सालको परिवर्तन अगाडि सक्रिय राजनीतिमा हिडियो, नेतृत्वमा पुग्दै गर्दा यी कुरा छुट्दै गए। त्यसपछि कविताजीसँग विहे भयो। उनले मैलै लेखेका शब्द पढिसकेपछि बाहिर ल्याउनुपर्छ भनिन्। पछि स्वीकृति भन्ने एल्बम राजेशपायल राई, प्रमोद खरेल, अञ्जु पन्तहरुलाई गाउन लगाएर निकाले। अहिले नेपाल जेसिजको कार्यक्रममा देशभरी कही पनि जानुभयो भने बजिरहेको गीतको गीतकार, रचनाकार विश्वप्रकाश हो।
मैले प्रेमका गीत लेख्दै गर्दा पनि राष्ट्रप्रेमलाई केन्द्रमा राख्छु। जस्तैः हिमालको देशमा हिउँजस्तै चोखो माया, गुराँसको लेकमा फुलजस्तै कोमल माया। प्रिय तिमीलाई धेरै धेरै माया गर्छु, आइपरे तर म देशका निम्ति मर्छु। एउटा युवतीले सुसाइड गर्दा अगाडिको कल्पना अब अन्तिम चिठ्ठी लेख्दैछु तिमीलाई, अन्तिम गीत सुनाउँदैछु, तिम्रो नाममा म निम्तो मलामीको पठाउँदैछु । साहित्यमा कतिपयले आफूमा भएको कुरालाई लेख्छन्, कतिपयले कल्पना गर्छन। मेरो मुल बाटो राजनीति भएकाले साहित्यमा ध्यान दिन सकेको छैन्। पछि अनुकुल समयमा काम गर्नेछु।
प्रेम भनेको के हो?
यो जीवन, यो धर्ती चलाउने सबैभन्दा प्रमुख मेरुदण्ड हो। कल्पना गर्नुस् धर्तीमा प्रेम छैन भने, रुखमा पात छैन भने, नदीमा पानी छैन वा हावामा अक्सिजन छैन भने पृथ्वी सकिन्छ। अक्सिजन छैन चाँडै सकिन्छ, पानी छैन अलि पछि सकिन्छ, पात छैन अलिक समय र प्रेम छैन अलि ढिलो सकिन्छ। तर यो पृथ्वी चल्नका लागि सबै अनिवार्य तत्वमध्ये सूर्यको प्रकाश, हावाको अक्सिजन, नदीको पानी चार पाँच वटा कुरा यस्तो तत्व हुन जसले यो संसार चलाउँछ। त्यसकारण प्रेम संसारलाई सुखी बनाउन, खुसी बनाउन, अध्यात्मिक बनाउन, संसारलाई संसारको बाँच्न देखाउने प्रेम हो।
भ्यालेन्टाइन डेमा लभ लेटर प्रतियोगिता
नयाँ पुस्तामा प्रेम
प्रेमको तार पहिला भन्दा पातलो भएको जस्तो लाग्छ। त्यो कुरामा अहिलेको पुस्ताले गम्भीरता लिनुपर्छ। कुनै पनि घर चल्ने कुरा सम्झौताले चल्यो त्यो घर राम्रो चल्दैन। त्यो घर सम्झौताभन्दा बढी समझदारीले चल्यो भने खुसी नै खुसी हुन्छ। समझदारी हुनु भनेको दुवैले एक अर्कालाई बुझ्नु, सम्झिनु हो। सम्झौता भनेको उसले यो तोडेको छ, अर्कोले यो तोडेको छ। अब आइन्दा नगर्ने भन्ने सम्झौता हो। त्यसकारण प्रेमको धागो बलियो भयो भने परिवारको सम्बन्ध बलियो हुन्छ। अहिलेको पुस्तामा प्रेम भनिने कुराका प्रतिको मात्रात्मक रुपमा आकर्षण भन्ने कुरालाई केन्द्रमा र प्रेम भन्ने कुराको गहिराईमा चाँही कमजोरी पो भइराखेको छ की?
प्रेम ब्रह्माण्ड, यौन एउटा ग्रह
यौन अनिवार्य र अत्यावश्यक चिज हो, जसका कारणले संसार चलेको छ। हरेक यौनको पछाडी प्रेमको गाम्भीर्यता, महत्वपूर्ण तत्व हुन्छ भन्न सकिँदैन। तर प्रेम भन्ने कुरालाई फरक राखेर हेर्दा त्यो प्रेम अन्तमा गृहस्थमा पुग्दै गर्दा यौनमा पुग्न सक्छ। प्रेम मल्टि डाइमेन्सन चिज हो। प्रेम र यौन गाँसेर हेर्नुहुँदैन। प्रेम भएका सबैसँग यौन हुँदैन। यौन सम्बन्ध भन्ने कुरो सीमित व्यक्तिसँग हुन्छ। प्रेमले बोक्ने दायरा ठूलो छ। प्रेमभित्रको एउटा निश्चित चिज यौन हो जो निश्चितसँग मात्रै हुन्छ। बृहत्तर अर्थमा बुझ्दा प्रेम भनेको ब्राह्माण्ड र यौनलाई एउटा ग्रहको रुपमा बुझ्नुपर्छ।
प्रेम मर्यादामा राखेर गर्नुस्
जम्मैलाई प्रेम गर्नुस् तर त्यसलाई मर्यादामा राखेर। विसंगती, विकृतीतर्फ समाज जाँदै गर्दाखेरी सरकार, प्रतिपक्ष, राजनीतिक दल शासन, मिडिया भन्दा पनि अन्ततः व्यक्ति नै यी सब कुराको प्रभावले सत्कर्म वा कुकर्म गर्छ भन्ने निर्धारण हुन्छ। अहिले हामी भ्यालेन्टाइन डे को चर्चा गर्दाखेरी देशमा यत्रो हिंसा भएका छन्, बलात्कारका घटना छन्, त्यो प्रेम होइननी त, ति को हुन भन्दा हामीभित्रकै मान्छे हुन् नी। समाज विसंगत र नकारात्मक बन्न थाल्यो। त्यसकारण प्रेम जमेर गरौं। मर्यादालाई बुझेर गरौं।
प्रेममा असफलता किन हुन्छ?
प्रेममा सिद्धान्त बनाउन हुँदैन। जीन्दगी भनेको नेभर इण्डिङ एभिसन जस्तै हो। निरन्तर तपाई के प्रयत्न गर्नुहुन्छ। प्रेमका लागि, आयआर्जन गर्नका लागि प्रतिष्ठा उँचो राख्नलाई, साथीहरुसँग रमाउनलाई, मिडिया वा राजनीतिमा अगाडि बढ्नलाई निरन्तर इमान्दार प्रयत्न गरिरहनुभयो भने तपाई सुखी बन्नुहुन्छ। प्रेम भनेको पनि त्यही हो। तर निरन्तरको प्रयत्न प्रेममा पनि छैन, अन्यमा पनि छैन भने नेभर इण्डिङ एमिसन भन्यो भने फकिर भएर निस्किन्छ। कही पनि पुगिँदैन। बुढेसकालमा गएर यो जीवन सोचेजस्तो भएन भन्ने अवस्था आउँछ।
योगेश भट्टराईको विहेपछिको प्रेम
कलेजमा ४० सालमा पढ्न आए। स्ववियु सभापति भएँ। सभापति भएपछि त्यो मान्छे स्वतः विद्यार्थीको अभिभावक हुन्छ। अभिभावक जस्तो मान्छेले लभ गर्दै हिड्नु भएन। त्यसो हुँदा त्यति ध्यान पनि दिइएन। क्याम्पस पढ्दाखेरी कति केटी साथीले मन पराए होलान, कतिलाई मन पराइयो होला तर जीवन विताउने कुरा धेरै सोचविचार गरेर गर्ने हो। हामी सानैमा अभिभावक जस्तो भइयो। अरुका कतिपयका विवाह गराइदिने काममा लागियो। धेरैको विहे गराए, त्यो संगठनको हिसाबले दायित्व पनि भयो। सहजीकरण गरियो।
लभ भनेको अत्यन्त स्वभाविक कुरा हो। अखिलको अध्यक्ष भएको बेला मैलै एकदिन बैठकमा कुनै महिलाहरुको कुनै केटासँग लभ छ भने भन्नुपर्यो, केटाहरुको पनि महिला साथीहरुसँग लभ छ भने पनि भन्नुपर्यो। किन भनेर सोधे। कसैको लभ छ भने त्यसैमा अर्को साथी इन्गेज भयो भने के गर्ने? त्यसकारण पहिले नै क्लियर गर्ने, ओपन हुने, यो त सामान्य कुरा हो नी। यो कुरालाई ओपन गरेर जानुपर्छ। मनव जातिमा हेर्दा लभ भनेको एक अर्कालाई मन पराउने, प्रेम गर्ने, एकअर्काको भावना बुझ्ने, जब कुनै केटा र केटीको बीचको कुरा हुन्छ, त्यो जीवन पर्यन्त हिड्ने कुरा हो। त्यसलाई होशियारी पूर्वक हेर्ने, गर्ने हो।
भ्यालेन्टाइन डे सुनेका थियौं। केटाकेटीमा यसको महत्व पनि छ। तर मेरो जीवनमा यसको खासै ठूलो असर केही पनि छैन्। त्यसमा हामीले आजसम्म आदानप्रदान गर्ने आजसम्म गरेका छैनौं। पढाई र राजनीतिले लभतिर धेरै फोकस हुन पाइएन।
प्रकाशित: २ फाल्गुन २०७५ ०७:१८ बिहीबार