समाज

पत्रकार दियालीमाथि आक्रमण गरेको आरोपमा एक पक्राउ

निर्घात कुटपिटपछि अस्पतालमा उपचाररत पत्रकार दियाली । तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही– सामुदायिक रेडियो सर्लाही हरिवनका स्टेसन म्यानेजर सोम दियालीमाथि अज्ञात समूहले मंगलबार बिहान आक्रमण गरेको छ। कुटपिटबाट गम्भीर घाइते दियालीलाई हरिवनस्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं लगिएको छ। 

आक्रमणमा संलग्न भएको आरोपमा हरिवन नगरपालिका–११ निवासी २० बर्से इरफान देवानलाई पक्राउ गरी कारवाही अघि बढाइएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। पक्राउ परेका इरफानले आक्रमणमा संलग्न अन्य दुई जनाको नामसमेत बकिसकेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। आक्रमणको कारणबारे गम्भीर ढंगले अनुसन्धानसमेत भइरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। 

बिहान साँढे १० बजेतिर इरफानले हरिवन नगरपालिकाको सुखेपोखरीमा चिया खान बोलाएपछि आफू पुगेको र होटलको कुर्सीमा बस्ने क्रममा पछाडिबाट एक्कासि आक्रमण भएको दियालीले जानकारी दिए। ‘उनले बिहानैदेखि पटक–पटक फोन गरेर चिया खान बोलाइरहेका थिए, म खाना खाएर पौने ११ बजेतिर सुखेपोखरी पुगे र छेउको होटलमा चिया खान लिएर गए’, दियालीले भने, ‘होटलको आँगनमा रहेको कुर्सी सम्हालेर बस्ने क्रममा पछाडिबाट आक्रमण भयो, त्यसपछि मैले केही देखिनँ लगातार टाउको, अनुहार र छातीतिर हानेको हान्यै गरियो।’ कुटपिटबाट दियालीको दाँत, ओठ, मुख, आँखालगायत स्थानमा चोट लागेको छ। आफूलाई के कति कारणले यसरी आक्रमण गरियो भन्नेबारे थाहा नभएको दियालीले बताए। 

पत्रकारहरु आन्दोलित

यसैबीच नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरले महासंघका सदस्यसमेत रहेका पत्रकार दियालीमाथि आक्रमण गर्ने दोषीमाथि कडा कारवाहीको माग गरेका छन्। त्यस्तै नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाललगायत सञ्चारसम्बद्ध संघ संगठनले समेत घटनाप्रति घोर भत्र्सना गर्दै दोषीमाथि कडा कानुनी कारवाही गर्न स्थानीय प्रहरी प्रशासनसँग माग गरेका छन्। 

त्यस्तै रिपोटर्स क्लब सर्लाही शाखाले घटनाको विरोध गर्दै मंगलबार दिउँसो सदरमुकाम मलंगवामा ¥यालीसमेत निकालेको छ। पत्रकार महासंघ सर्लाहीले बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनमा घटनाको विरोध गर्दै -याली तथा प्रदर्शन गर्ने भएको छ। 

प्रकाशित: २९ माघ २०७५ १२:१६ मंगलबार

आक्रमण पत्रकार_सोम_दियाली रेडियो_सर्लाही_हरिवन