समाज

रोकिएन मुगुमा बालविवाह : ३२ वर्षको उमेरमा ७ सन्तान

मुगु– छायानाथ रारा नगरपालिका ३ साँयाखोलाकी २५ वर्षीया ईश्वरमाया कामी २५ वर्षकी भइन्। उनको १६ वर्षको उमेरमा बिहे भएको हो। विपन्न परिवारकी उनी ६ बच्चाकी आमा भइसकिन्।

उमेर २५ वर्षको भए पनि उनको शरीर ४० वर्षकी महिलाको जस्तै देखिन थालिसक्यो। उनका पति ज्याला मजदुरी गर्छन् भने उनी बच्चा बोकेरै भए पनि गिट्टी कुट्ने काम गर्छिन्। कामी मात्र होइन, किशोरावस्थामै आमा बन्ने किशोरी मुगुमा थुप्रै छन्। दशकअघि बालविवाहको चरम रुप देखिने मुगुमा यो संख्या अझै उस्तै छ। 

पछिल्लो समय आधुनिकीकरणको नाममा सामाजिक सञ्जालको दुरुपयोगका कारण बालविवाह बढ्दै गएको छ। विद्यालयीय उमेरमै आफूखुसी विवाह गर्नाले यो समस्या झनै बढ्दो छ। 

‘किशोरकिशोरीबीच प्रेम बस्ने र भागी बिहे गर्नाले पनि बालविवाह नघटेको मष्टा आधारभूत विद्यालय प्रधानाध्यापक रामभक्त रोकायाले बताए। उनले भने, ‘यस्तो भएपछि परिवारले पनि बाध्य भएर स्वीकार्नुपर्छ, सहरतिर उच्च शिक्षा अध्ययनका लागि पठाउने चलनले पनि यो संख्या बढ्ने गरेको छ।’ प्रभाव माध्यामिक विद्यालय रोवाको कक्षा १० का नौ छात्राको विवाह भइसक्यो। विद्यालयस्तरमा गठित बालक्लब तथा गाउँस्तरमा सञ्चालित संस्था त्यसमै आबद्ध किशोरकिशोरीको समेत बिहे भइसकेको प्रभात मावि रोवाका प्रअ चन्द्रप्रकाश बढुवालले जानकारी दिए। ईश्वरमाया जस्तै जिल्लाको खत्याड गाउँपालिका २ गाडेंखोलाकी दूधशीला भियाल ३२ बर्ष पुगिन्। १५ वर्षकै उमेरमा उनको बिहे भएको हो। उनी यतिबेला ७ सन्तानकी आमा बनिसकेकी छन्। 

उनका पति रडक भियाल ज्यालामजदुरी गर्छन्। ‘कलिलैमै बिहे भयो, एक वर्षमै छोरी जन्मिई,’ दूधशीलाले भनिन्, ‘केही थाहा थिएन, कसरी बच्चा पाल्ने ? बालबच्चा धेरै जन्मिए, लोग्नेले ज्याला मनदुरी गर्छन्, हामी दुवैले पढे लेखेका छैनौँ।’ घरको अन्नले २ महिना मात्र खान पुग्ने उनको परिवारमा ७ छोराछोरी सहित ११ जनाको परिवार छ। उनीहरुको पालनपोषण र लुगा फाटोको लागि वर्षभरि नै ज्याला मनदुरी नगरी सुखै छैन। बालबच्चा हुर्काउन र लुगा फाटोको लागि केही वर्षअघि भारततिर जानुपथ्र्यो रड्कले भने, ‘आजभोलि गाउँतिरै मजदुरीको काम गर्दै आएको छु।’ 

प्रकाशित: २९ माघ २०७५ १०:१३ मंगलबार

बालविवाह मुगु सन्तान