समाज

छात्रालाई साइकल उपहार

रौतहट - रौतहटको परोहा नगरपालिकाले निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल उपहार दिने अभियान नै थालेको छ। नगरका अधिकांश विद्यालय प्राथमिक तहको रहेको र प्राथमिक तहको पढाइ पूरा गरेपछि गाउँभन्दा टाढा जानुपर्दा बालिकाको पढाइ छुट्ने गरेकोले उनीहरुलाई साइकल उपहार दिइएको नगरपालिकाले जानकारी दिएको छ।

प्रदेश सरकारले पनि 'बेटी पढाऔँ बेटी बचाऔँ' अभियान नै चलाएकोले छात्रा शिक्षामा नगरले विशेष लगानी सुरु गरको मेयर शेख वकिलले बताए। मेयर वकिलले नगरका कक्षा ८ सम्म सञ्चालित सम्पूर्ण विद्यालयका छात्रालाई लौकाहास्थित ब्रह्मज्योति माध्यमिक विद्यालयमा बोलाएर साइकल उपहार दिए। नगरस्तरीय वार्षिक परीक्षा २०७५ को तयारी गरिरहेका छात्राहरुलाई साइकलले समयमा विद्यालय पुग्न र समयमै घर फर्केर विद्यालयको गृह कार्य गर्न सजिलो हुने विश्वास नगरपालिकाले लिएको छ। नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा गरी कक्षा ८ मा १७४ छात्रा अध्ययनरत छन्।

छात्रालाई साइकल उपहार प्रदान गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका प्रत्याशी रामचन्द्र गिरीले नगरभित्रका विद्यालयमा कक्षा ८ मा अध्ययनरत सम्पूर्ण छात्राले साइकल प्राप्त गरेपछि बालिका शिक्षाको गुणस्तरमा केही सुधार हुने विश्वास व्यक्त गरे।

नगरपालिकाले गत वर्ष नगरभित्रका सम्पूर्ण विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रालाई साइकल उपहार दिएको थियो। नगरमा जम्मा ३ वटा माध्यमिक विद्यालयमा २१५ जना अध्ययनरत छन्। साइकल पाएपछि विद्यालय र टिउसन आउन जान सजिलो भएको छात्राहरुले बताएका छन्।

प्रकाशित: २८ माघ २०७५ १३:१० सोमबार

साइकल परोहा_नगरपालिका विद्यालय