समाज

ह्योल्मो एकीकृत बस्तीमा परम्पराको झल्को

पर्यटकीय गाउँ हेलम्बुकाे तेम्बाथाङमा निर्माणाधीन ह्याेल्माे एकीकृत बास्ती। तस्बिर : ध्रुब/ नागरिक

हेलम्बु (सिन्धुपाल्चोक) - चर्चित पर्यटकीय गाउँ हेलम्बुको प्रवेशद्वार हो– तिम्बु बजार। तिम्बु हुँदै उकालो चढ्दा ह्योल्मो समुदायका पातला बस्ती छिचोलेपछि पुगिन्छ तेम्बाथाङ। लालीगुराँसलगायत घना बुट्यानबीच झन्डै सय रोपनी जग्गामा एउटै शैली र आकारमा घरहरू ठडिँदै छन्। न ठूला न साना, मझौला संरचना। हरियो रङका कर्कटपाताले छाइएका घरहरू चिटिक्क देखिन्छन्। यो ह्योल्मो समुदायले ठड्याउँदै गरेको एकीकृत बस्ती हो। उत्तरतिरबाट आमायाङ्री, दोर्जेलाक्पा, थाङपालछ्योलगायत आधा दर्जनको संख्यामा रहेका हिमाल खुलेका बेला घरहरूको सौन्दर्यमा अझ निखरता आउँछ। ती घरमा हालिएका छन्, बुट्टेदार आकर्षक झ्याल। त्यो ह्योल्मो समुदायको परम्परागत झ्याल हो। यसलाई स्थानीय भाषामा ‘नाम्बा कोसुङ’ भनिन्छ।

ह्योल्मो संस्कृति कायम राख्दै ठडिएका घरहरूले बाक्लो बस्तीकै रूप लिँदा डेढ सय दिन श्रममा जोतिइसकेका करछिरिङ लामा शेर्पाले दबिएको खुसी छर्न भ्याइहाले, खुलेका हिमाले चमक छरेझैं। ‘अबको एक महिनाभित्र बस्तीभित्र छिर्छौं,’ हातका औंला भाँचेर दिन गन्दै करछिरिङले भने। उनका अनुसार २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि आसपासका थालथलोबाट विस्थापित पीडित बसोबास गर्नेछन्। यहाँ विकास भइरहेको एकीकृत बस्तीमा ४४ घरधुरी छन्।

स्थानीय पीडित, हेलम्बु गाउँपालिका, दाता अक्सफाम, साझेदार संस्था जनहित ग्रामीण सेवा समिति र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बहुपक्षीय साझेदारीमा एक वर्षदेखि बस्ती विकास भइरहेको छ। घरलौरी एक सदस्य निस्किएर स्थानीय दिनरात नभनी पुनर्निर्माणमा खटिइरहेका छन्। उनीहरू परम्परा कायम राख्दै ह्योल्मो संस्कृति झल्कने बस्ती बनाउन तल्लीन छन्। तेम्बाथाङ एकीकृत बस्तीका अध्यक्ष साङ्गे लामा बस्ती विकासमा स्थानीयले एक सय ५० दिन श्रमदान गरिसकेको बताउँछन्।

‘सकेसम्म ह्योल्मो संस्कृति झल्काउने बस्ती बनाउने हाम्रो ध्येय हो,’ उनले भने। उनका अनुसार बस्तीको प्रत्येक घरमा एउटा नाम्बा कोसुङ (परम्परागत झ्याल) राखिएको छ। हरेक घरमा धुँवारहित तन्दुरी चुलो प्रयोगमा आउने साङ्गे सुनाउँछन्। यो ह्योल्मो समुदायको परम्परागत चुलो हो। इन्टरलक इँटा प्रयोग गरी बनेका घरहरू आठ÷आठ आना क्षेत्रफलमा फैलिएका छन्। चार आना खुला क्षेत्र राखेर त्यति नै जमिनमा बनेका संरचनामा बरन्डा र तीन कोठा छन्। ‘परम्परागत झ्याल, ढोका र इँटा हामी आफैंले बनाएका हौं,’ अध्यक्ष साङ्गेले भने। उनका अनुसार तालिमसहित परम्परागत झ्याल बनाउन हेलम्बु गाउँपालिकाले सहयोग गरेको थियो। स्थानीय संस्कृति झल्कने प्रतिझ्यालको लागत एक लाख रुपैयाँ पर्न गएको छ।

चार करोड रुपैयाँ लगानी यो एकीकृत बस्ती सम्पन्न हुँदै छ। जनहितसँगको साझेदारीमा दाता अक्सफामले तीन करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। बस्ती सम्पन्न हुँदा स्थानीयबाट एक करोड रुपैयाँबराबर श्रमदान हुनेछ। ‘पूर्वाधार विकास र बस्ती सम्पन्न भएपछि जीविकोपार्जनमा तीन करोड रुपैयाँमध्येबाटै सहयोग पु-याउँदै छौं,’ साझेदार जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भने। बस्तीसम्म पुग्ने मोटरबाटो निर्माणमा गाउँपालिकाले सघाएको थियो। बस्तीमा सामुदायिक भवन, तीनवटा होमस्टे भवन, एक घर एक धारा र शौचालयसहितका पूर्वाधारसमेत बन्नेछन्। खानेपानीका लागि २० हजार लिटरको खानेपानी ट्ंयाकी बनिसकेको छ। प्राधिकरणको लाभग्राही सूचीमा समेटिएका ४० घर एकीकृत बस्तीमा बस्नेछन्। लाभग्राहीमा समेटिन गुनासो भरेका थप चारघरसमेत बस्तीमा समेटिएका छन्। हालसम्म २१ घरको छाना छाउने काम सम्पन्न भइसकेको छ।

बाँकी घरको छाना छाउने, धारा जडान गर्ने, शौचालय बनाउने र अन्तिम ‘फिनिसिङ’ (रङरोगन) गर्ने काम एकसाथ अघि बढिरहेको शर्मा बताउँछन्। ‘एक महिनाभित्र बस्ती समुदायलाई हस्तान्तरण गर्ने गरी कामलाई तीव्रता दिएका छौं,’ उनले भने। उनका अनुसार गोलाप्रथा गरेर स्थानीयले घर छानिसकेका छन्। घर छान्न हानथाप नहोस भनेर स्थानीयकै सुझावअनुसार गोलाप्रथा गरिएको थियो। निर्माण सम्पन्न हुँदा प्रतिघर लागत १० लाख रुपैयाँ नाघ्ने अनुमान छ। अनुदान, श्रमदानसहित पुनर्निर्माणमा स्थानीय लगानी ६ लाख रुपैयाँ पुग्ने प्रभावित बताउँछन्।यो एकीकृत बस्तीमा पूर्वाधार विकास गर्न प्राधिकरणबाट दुई करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। ‘गाउँपालिकामार्फत नै यो रकम खर्च हुनेछ,’ उनले भने, ‘बस्तीलाई ह्योल्मो क्षेत्रकै नमुना बनाउन गाउँपालिकाबाट पनि पूर्वाधार विकासमा बजेट थप्छौं।’ आठ अजार रुपैयाँ पर्ने तन्दुरी चुल्हो खरिद गर्न गाउँपालिकाले प्रतिपरिवार तीन हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको उनले जनाए। बाँकी ५ हजार रुपैयाँ दाता अक्सफामले दिनेछ। भूकम्पपछि ह्योल्मो संस्कृति झल्कने घर लोप हुने संघारमा पुगेकाले त्यसलाई जोगाउन नमुनाका रूपमा यो एकीकृत बस्ती विकास गर्न लागिएको अध्यक्ष निमाग्याल्जेन बताउँछन्।

प्रकाशित: २८ माघ २०७५ ०१:५० सोमबार

हेलम्बु पर्यटकीय_गाउँ ह्योल्मो