समाज

पश्चिमी वायुकाे प्रभाव : शनिबारसम्म बदली र वर्षा हुने

काठमाडौं - पश्चिमी वायुको प्रभावले विहिबार देशैभर बदली र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौँमा १०.६ मिलिमिटर वर्षा भएको छ। काठमाडौँ उपत्यकामा दिनभर सिमसिमे वर्षा भएको छ। विहिबार सबैभन्दा बढी जुम्लामा २३.२, वीरेन्द्रनगरमा २२.५, पोखरामा १९ र दाङमा १८ मिलिमिटर वर्षा भएको छ।

त्यसैगरी डडेलधुरामा ८.८, नेपालगञ्जमा ७.९, भैरहवामा सात, धनगढीमा दुई र ताप्लेजुङमा एक मिलिमिटर वर्षा भएको छ। उपत्यकामा बिहानैदेखि बदली र निरन्तर वर्षा भएकाले विहिबार बढी चिसो महसुस गरिएको छ। न्यूनतम तापक्रम बढेर ७.५ पुगे पनि अधिकतम तापक्रम भने घटेर १०.८ पुगेको छ। हिजो बुधबार काठमाडौँको न्यूनतम चार र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको थियो।

महाशाखाले मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर शनिबारसम्म बदली र वर्षा हुने जनाएको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यको धेरै स्थानमा हल्का र केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको छ।

महाशाखाका मौसमविद् सुजन सुवेदीले पश्चिमी वायुको प्रभावले बदली र वर्षा गराएको जानकारी दिए। उनका अनुसार यो मौसमी प्रणालीको असर आगामी आइतबारसम्मै देखिनेछ। शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने शनिबार मध्य र पूर्वी भेगमा बदली र हल्का वर्षाको सम्भावना छ। आइतबार पनि पहाडी भेगमा बदली र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।रासस

प्रकाशित: २४ माघ २०७५ १६:०० बिहीबार

पश्चिमी_वायु बदली वर्षा हिमपात