समाज

हिमपातले विमानस्थल बन्द

डोल्पा - हिमाली जिल्ला डोल्पामा बिहीबार परेको हिमपातले जुफाल विमानस्थल बन्द भएको छ। बिहानैदेखि शुरु भएको हिमपातका कारण विमानस्थलमा बाक्लो हिँउ जमेको छ। जहाज अवतरण गर्ने हवाई मार्गमा नै बाक्लो हिँउ जमेपछि जुफाल विमानस्थल अवरुद्ध भएको हो। 

हिमपातका कारण नेपालगञ्जदेखि हुने कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार शर्माले बताए।

जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ। बिहानदेखि शुरु भएको हिमपात बेलुकीसम्म जारी रहे दुई–तीन दिनसम्म जुफाल विमानस्थल अवरुद्ध हुने सम्भावना रहेको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ। 

यसैगरी कर्णालीका जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा समेत बिहानैदेखि हिमपात शुरु भएपछि त्यहाँका विमानस्थलहरुसमेत अवरुद्ध भएका छन् भने जनजीवन कष्टकर बनेको छ। 

प्रकाशित: २४ माघ २०७५ १०:२० बिहीबार

डोल्पा जुफाल_विमानस्थल हिँउ हिमपात