समाज

महायज्ञको तयारी अन्तिम चरणमा

महायज्ञ हुने चतराको स्थान। तस्बिर : चुमन बस्नेत/नागरिक

इटहरी – सुनसरीको चतराधाममा माघ २६ गतेबाट हुन लागेको श्रीराम तारकब्रह्म महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने महायज्ञ फागुन ७ गतेसम्म चल्नेछ। महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान र जगत्गुरु श्रीरामानन्दाचार्य सेवापीठको आयोजनामा महायज्ञ हुन लागेको हो।

एक सय दुई सय साधकद्वारा श्रीराम तारकब्रह्म मन्त्रराजको एक अर्ब ६० करोड पूर्ण जप र १६ करोड हवनार्चनसहितको महायज्ञ हुनेछ। श्रीरामानन्दाचार्य पीठले एक सय २० दिन लगाएर चतरामा एक सय ३६ कोठा भएको पक्की भवन बनाएको महायोगी सिद्धबाबा डाक्टर श्रीवैष्णव कृष्णदासजी महाराजले बताए। उनले भने, ‘कोठाको काम पूरा भएको छ, धारा र ढोका जडान गर्न बाँकी छ,’ उनले भने, ‘भक्तजन स्वतःस्फूर्त रूपमा काममा जुटिरहेका छन्।’ नौ कुण्ड, नौ ग्रह र नौ दिनसम्म सञ्चालन हुने महायज्ञका लागि नौतले मण्डप निर्माण गरिएको छ। मण्डप भारतबाट कालीगढ ल्याएर बनाइएको हो । मण्डप निर्माणमा करिब पाँच हजार बाँस प्रयोग गरिएको छ।

महायज्ञमा ६० टन तिल, ३० टन चामल, १५ टन जौ, १० टन घिउ, १० टन जडीबुटी र दुई सय ४० टन समिदाको हवन गरिनेछ। यी सम्पूर्ण सामान ल्याइ सकिएको छ। ‘अब एक ट्रक गुइँठा आउन बाँकी छ। गुइँठा विहार दरभंगाबाट आउनेछ,’ कृष्णदासजी महाराजले भने, ‘साधन जुटिसकेको अवस्था छ। सबै थोक तयार छ। धुमधामसँग सिँगार हुँदै छ।’ महायज्ञमा एक सय आठ कुण्डमा एक हजार दुई सय साधकले हवन गर्नेछन्।

प्रकाशित: २४ माघ २०७५ ०२:३३ बिहीबार

सुनसरी चतराधाम श्रीराम_तारकब्रह्म_महायज्ञ तयारी राष्ट्रपति