समाज

पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण, पटकपटक सवारी दुर्घटना, मर्मतको पहल हुन सकेन

दायाँबायाँका बार क्षतिग्रस्त अवस्थामा रहेको हुग्दीखोला पुल। तस्बिर : सरिता/नागरिक

धादिङ – राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण बनेका छन्। पुलमा यात्रा गर्दा पनि हल्लिएर आवाज आउने भएपछि यात्रा जोखिमपूर्ण बनेको यात्रुको भनाइ छ। थाक्रे गाउँपालिका र धुनीबेसी नगरपालिकाको सिमानामा रहेको गणेशखोलाको पुल जीर्ण अवस्थामा छ।

साँधुरो पुलको दायाँबायाँका डन्डी भत्किएका छन्। पैदल हिँड्न पनि जोखिमपूर्ण छ। दुई वर्षअघि यस पुलबाट चितवन जाँदै गरेको माइक्रोबस खसेर एकजनाले ज्यान गुमाएका थिए। त्यस्तै एक वर्षअघि टिपर खस्दा चालक घाइते भएका थिए। दुई वर्षअघि भत्किएको पुलको बार अहिलेसम्म पनि मर्मत भएको छैन।

गल्छी गाउँपालिकास्थित चिरौदी खोलाको पुल पनि उस्तै अवस्थामा छ। पुलमा ट्रकहरु एकतर्फी रुपमा मात्र गुड्ने गर्छन्। पुलको छेवैमा बिग्रिएको सडकले झनै दुर्घटनाको जोखिम बढाएको छ। पुलको पूर्वी मुखमा खाल्डाखुल्डी भएका कारण मोटरसाइकल स्पिडमा आएका बेला दायाँबायाँ ठोक्किने गरेका छन्।

पृथ्वी राजमार्गको धादिङ खण्डमा मात्रै २० भन्दा बढी कल्भट तथा पक्की पुल छन्। प्रायः ती सबै जीर्ण अवस्थामा छन्।

यता बेनिघाट रोराङ गाउँपालिकामा रहेको हुग्दीखोला पुललाई आसपासका स्थानीयले ‘ज्यानमारा पुल’ को संज्ञा दिएका छन्। हुग्दीखोलाका स्थानीयको आँखैअगाडि उक्त पुलबाट खसेर दर्जनौं यात्रुले ज्यान गुमाइसकेका छन्। पुलबाट सवारीसाधन खसेर ज्यान गुमाएका घटना देखिरहने भएका कारण ज्यानमारा पुल भनिएको स्थानीय सन्तोया धरेलले बताए। ‘भीरबाट ढुंगा गुल्टिएजसरी यो पुलबाट गाडी खसेको देखेका छौं’, धरेलले भने, ‘खाँदै गरेको भात छाडेर खसेको गाडीमा च्यापिएका यात्रुको उद्धारमा जाने गरेका छौं।’

यस पुलका दायाँ र बायाँका बार भाँचिएका छन्। जसका कारण दुई सवारीसाधन ठोक्किएमा सीधै खोलामा पुग्छन्। एक वर्षको अवधिमा ६ वटा सवारीसाधन उक्त पुलबाटै खसेका छन् भने पुलवारि र पारि गरी थप तीन दुर्घटना भएका छन्। ‘सवारीसाधनको सुरक्षाका लागि पुलमा राखिएको बारले मोटरसाइकलसमेत जोगाउँदैन’, धरेलले भने, ‘एकपटक सवारीसाधनले पुलको बार भत्काएपछि पुनः सडक विभागले उस्तै प्रकृतिको बार बनाउँछ तर त्यसले पनि सवारी साधनलाई दुर्घटना हुनबाट जोगाउन सकेको छैन।’

पुलबाट पटकपटक सवारीसाधन खस्न थालेपछि धेरैथरीका इन्जिनियर अध्ययनका लागि पुगेका थिए तर दुर्घटना कम गर्ने उपाय अवलम्बनतर्फ कसैको ध्यान पुगेको छैन। पुलको मुखैमा रहेको ओरालो सडक र साँघुरो घुम्ती सुधार नगरे राजमार्गमा यात्रा गर्नेले अकालमै जान गुमाउनुपर्ने हुन्छ। राजमार्गका पुराना पुलहरु निर्माण नहुँदा यात्रा गर्नेले जोखिम मोल्नुपरेको छ नै, स्थानीय पनि क्रसित छन्।

स्थानीयका अनुसार हुग्दीखोलाको पुलबाट अहिलेसम्म ६ वटा बस र सयभन्दा बढी ट्रक तथा जिप खसेका छन्। दुर्घटनामा परी धेरैले ज्यान गुमाएका छन् भने घाइते भएकाको लेखाजोखा छैन। काठमाडौंबाट मुग्लिनतर्फ जाने बाटोमा पुलको मुखैमा साँघुरो घुम्ती हुनु नै दुर्घटनाको मुख्य कारण भएको स्थानीय बताउँछन्। पुलको मुग्लिन साइडपट्टि सडक सीधा छ तर पुलको मुखैमा घुम्ती छ। त्यसैले तीव्र गतिमा आएका सवारीसाधन पुलको मुखमा दुर्घटनामा पर्ने गरेका छन्। पुलमा १४ चक्के र १६ चक्के गाडी आइपुगेका बेला साँघुरो मोड भएपट्टिबाट गुडेका सवारीसाधन ठक्कर खाने डरले ब्रेक लगाउँदालगाउँदै पुलबाट खस्ने गरेका छन्।

ओभरलोडका कारण राजमार्गका अधिकांश पुल कमजोर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले बताए। ‘राजमार्गमा क्षमताभन्दा बढी तौल लादिएका सवारीसाधन गुडाउने प्रवृत्ति नै प्रमुख समस्या बनेको छ’, उनले भने, ‘सामान्य रुपमा टालटुल पारेर पुल मर्मत गरिन्छन् जसका कारण कुनै पनि पुलको आयु अब कति छ भनी अनुमान लगाइहाल्न सक्ने अवस्था छैन। त्यसैले दुर्घटनाको जोखिम बढ्ने गरेको छ।’ सडकमा टिपरदेखि ट्रकसम्म ओभरलोड भएर गुडिरहेका हुन्छन्। त्यसमा पनि भारतीय ट्रक बढी देखिन्छन्।

पृथ्वी राजमार्गको धादिङ खण्डमा मात्रै २० भन्दा बढी कल्भट तथा पक्की पुल छन्। प्रायः ती सबै पुल जीर्ण बनेका छन्। ती पुलमा सवारीसाधन गुड्दा झोलुंगे पुलजस्तै हल्लिन्छन्। ४० वर्षअगाडि निर्माण गरिएका यी पुलमा अहिले दैनिक सात हजारभन्दा बढी गाडी ओहोरदोहोर हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। विगतको तुलनामा गाडीको चाप बढ्दै गएकाले पनि दुर्घटना बढेको प्रहरीको भनाइ छ।

स्थानीयले पुलका दायाँ बायाँका बार मर्मत गर्न माग गरेका छन्। भर्खरै निर्माण सम्पन्न भएको मुग्लिन–नारायणगढ सडक खण्डमा परीक्षणका रुपमा राखिएका ‘केवल ब्यारियर’ यस खण्डका पुलका छेउछाउमा राखे पनि दुर्घटना कम हुने स्थानीय बताउँछन्। हुग्दीखोला आसपास र गजुरीमा ‘केवल ब्यारियर’ परीक्षणका रुपमा राखिए पनि एक साता नबित्दै उप्किएको थियो।

त्रिभुवन राजपथमा पनि उस्तै समस्या

त्रिभुवन राजपथअन्तर्गत धादिङको नौबीसे हुँदै हेटौडा जाने बाटोमा रहेका पुल पनि जीर्ण अवस्थामा छन्। स्टिलका पुलमा खिया लागेको छ भने दायाँ बायाँका डन्डी पनि भाँचिएका छन्। धादिङखण्डमा रहेका सुुंगुरेखोला पुल, सोप्याङ खोला पुल, अर्चने खोलाका पुल जीर्ण छन्। नारायणघाट–मुग्लिन सडक खण्ड निर्माणका क्रममा अवरुद्ध हुँदा पूर्वपश्चिम चल्ने अधिकांश सवारीसाधन यही राजमार्ग हुँदै गुडेका थिए। अहिले यहाँका पुलमा हिँड्दा पनि थरथर हल्लिएर आवाज आउने गरेको छ।

प्रकाशित: २४ माघ २०७५ ०१:४९ बिहीबार

पृथ्वी_राजमार्ग पुल जीर्ण सवारी_दुर्घटना मर्मत