समाज

आन्दाेलनमा उत्रेका २२ अटो व्यवसायी पक्राउ

सुर्खेत - अटो रिक्सामा लगाइएको चर्को शुल्क हटाउन र एकतर्फी रुट खारेजको माग गर्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा अटो व्यवसायीहरु आन्दोलित भएका छन्। अटो थन्क्याएर आन्दोलन गरिरहेका २२ जना व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ। 

वीरेन्द्रनगर नगरपालिकाले जारी गरेको ई–रिक्सा व्यवस्थापन निर्देशिका-२०७५ मा ई–रिक्सा तथा अटो दर्ताका लागि पाँच हजार शुल्क निर्धारण गरेको छ। त्यसविरुद्ध वीरेन्द्रनगरका अटो व्यवसायीहरु आन्दोलित भएका हुन्। प्रहरीले आन्दोलनरत शिद्धपाइला यातायातका अध्यक्ष पदम वनसहित २२ जनालाई पक्राउ गरेको जनाएको छ।

अटो व्यवसायीले विज्ञप्तिमार्फत दोहोरो तथा चर्को कर हटाउन र एकतर्फी निर्धारण गरिएको रुट खारेज गर्न माग गरेका छन्। वीरेन्द्रनगरमा एक हजारबढी अटोहरु छन्। अटो ठप्प हुँदा यात्रुहरुलाई सास्ती भएको छ।

 

प्रकाशित: २३ माघ २०७५ ०९:५४ बुधबार

अटो_रिक्सा आन्दोलन पक्राउ