समाज

वायुसेवा निगमले पचास नयाँ पाइलट लिने

काठमाडौं- नेपाल वायुसेवा निगमले ५० जना नयाँ पाइलट भर्ना गर्ने भएको छ। क्याप्टेन र को–पाइलट गरेर निगमलाई ५० जना आवश्यक परेको हो।

निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने १४ थान जहाज छन्। निगमका अनुसार ती जहाज उडाउन क्याप्टेन र को–पाइलट गरेर एक सय ४३ जना आवश्यक पर्ने देखिएको छ। अहिले निगमसँग ८५ जनामात्र पाइलट छन्। ‘अपुगमध्ये ५० जना थप्न लागेका हौं,’ निगमका सहप्रवक्ता नवराज कोइरालाले भने, ‘पाइलट थप्न बोर्ड बैठकमा पटकपटक छलफल भई पारित हुने क्रममा छ।’ 

उनका अनुसार बोर्ड बैठकले पारित गरेपछि त्यसलाई स्वीकृतिका लागि लोकसेवा आयोग पठाइने छ। लोकसेवाबाट स्वीकृत भएर आएपछि पाइलट भर्ना प्रक्रिया सुरु गरिने कोइरालाले बताए। उनका अनुसार पाइलट भर्नाको काम यही वर्ष हुनेछ।

अहिले निगमसँगका ८५ पाइलटमध्ये १७ विदेशी छन्। करारमा रहेका यी पाइलटको अवधि लामो छैन। निगमका सबै जहाज अप्रेसनमा आउँदा पाइलट पुग्दैन। त्यसैले निगमले चाँडो पाइलट थप्न लागेको कोइरालाले बताए।

निगमसँग भएका १४ मध्ये पाँच जहाजले अन्तर्राष्ट्रिय र नौ जहाजले आन्तरिक उडान गर्छन्। केही सातायता आन्तरिक उडान गर्ने जहाज पाइलट अभावले थन्किएका छन्।

दुर्गममा उडान गर्ने १७ सिटे चारवटा ‘वाई १२–ई’ सिरिजका जहाज सञ्चालनको लागि चार क्याप्टेनसहित १६ जना पाइलट आवश्यक पर्छ। हाल चार क्याप्टेनसहित १२ पाइलट छन्। क्याप्टेनहरु उद्धव घिमिरे, नृपेन्द्र भट्टराई, सन्जय बादे श्रेष्ठ र आङनुरी शेर्पामध्ये उद्धव घिमिरे तालिममा छन्। भट्टराई र श्रेष्ठ बिरामी बिदामा छन्। बाँकी शेर्पाले पनि जहाज नियमित उडाइरहेका छैनन्। पाइलटको अभाव भएपछि यी जहाजबाट दुई सातादेखि  नियमित उडान भइरहेको छैन।

निगमसँग आन्तरिक उडानको लागि तीनवटा ट्विनअटर जहाज छन्। ती जहाज उडाउन १६ पाइलट आवश्यक पर्छ। अहिले ट्विनअटर जहाज उडाउन १२ पाइलट मात्रै छन्। ट्विनअटर सिरिजका दुईवटा जहाज ग्राउन्डेड भएर मर्मतको क्रममा छन्।

त्यसैगरी, सुगम क्षेत्रको आन्तरिक उडान गर्न ५८ सिटे दुई ‘एमए–६०’ छन्। यी जहाजको लागि १२ पाइलट आवश्यक पर्छन्। हाल निगमसँग सात पाइलट मात्रै छन्। यो सिरिजको एउटा जहाज लामो सयमदेखि ग्राउन्डेड थियो। यही साताबाट बाँकी एउटा जहाज पनि ग्राउन्डेड छ।

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने एउटा बोइङ सहित चारवटा वाइड र न्यारोबडी जहाज छन्। दुई सय ८० सिट क्षमताका ‘ए३३०–२००’ सिरिजका दुई वाइडबडी र एक सय ५८ सिट क्षमताका ‘ए३२०–२००’ सिरिजका दुई न्यारोबडीमा पनि पर्याप्त पाइलट छैनन्।

वाइड बडी दुई थान जहाजको लागि २१–२१ गरेर ४२ जना पाइलट चाहिन्छ। तर, निगमसँग हाल वाइड बडी जहाज उडाउने पाइलट २० जनामात्रै छन्। तीमध्ये ११ पाइलट विदेशी हुन्। पूर्ण रुपमा अप्रेसनमा जहाज नआएकाले दुवै जहाज त्यही २० पाइलटबाट सञ्चालन भइरहेका छन्।

त्यसैगरी, न्यारो बडी जहाजको लागि ३८ पाइलट आवश्यक पर्छ। यो जहाजका लागि ३५ पाइलट छन्।

‘बि७५७–२००’ सिरिजको बोइङ जहाजमा १९ पाइलटको आवश्यकता भए पनि आठजना मात्रै छन्। निगमको यो जहाज पनि ग्राउन्डेड छ। यसलाई बिक्री गर्ने योजना निगमको छ। मर्मत गरेर जहाज बिक्री नहुन्जेल सञ्चालन गर्ने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए। तर, पाइलट भने पर्याप्त छैनन्।

खरेलका अनुसार निगम ग्राउन्डेड रहेका सबै जहाज मर्मत गरेर उडाउने योजनामा छ। ‘हामीले जहाज मर्मतको काम गरिरहेका छौं,’ उनले भने, ‘मर्मत भएर सबै जहाज अप्रेसनमा आउँदा अपुग हुने पाइलट भर्ना गर्न लागेका हौं।’

अब भर्ना हुने सबै पाइलट नेपाली हुनेछन्। ‘विदेशी पाइलट महँगो हुँदा निगमको खर्च पनि बढ्छ,’ खरेलले भने, ‘अबको दिनमा निगमले पाइलट लिँदा नेपालीलाई प्राथमिकता दिनेछ।’ नेपालीले अवसर पनि पाउने र नेपालीले कम तलबमा काम गर्ने हुनाले प्राथमिकतामा नेपाली राखेको उनले जनाए। निगमले स्थायी रुपमा पाइलट भर्ना गर्न लागेको हो। विदेश पाइलट भने करारमा लिन्छ। पर्याप्त नेपाली पाइलट भएमा विदेशी पाइलट नलिने योजनामा निगम छ।

वाइड बडीमा हाल ११ पाइलट विदेशी छन्। वाइड र न्यारो बडी चार थान जहाज भारतको नयाँ दिल्ली, मुम्बई, बैंगलोर, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, दुबई, हङकङ र बैंकक लगायत छोटा गन्तव्यमा उडिरहेका छन्। चीन, जापान, कोरिया, दुबई लगायत गन्तव्यमा यी जहाज उडाउने योजनामा निगम छ।

प्रकाशित: २० माघ २०७५ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App