समाज

चोर समात्ने अभियानमा १ सय २४ पक्राउ

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १ सय २४ जनालाई पक्राउ गरेको छ। परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सञ्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो।

परिसर र महाशाखाले विशेष अभियान सञ्चालन गरी चोरी गर्नेलाई रंगेहात पक्राउ गरी कारबाही गरेको जानकारी दिएको हो। परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले दिउँसोको समयमा बढी मात्रामा चोरी तथा लुटपाट हुने गरेको जनाए। ‘अरु सामग्रीको तुलनामा नगद, सुन, चाँदी बढी चोरी हुने गरेको छ,’ उनले भने। साथीभाइको संगत, विगतको घरमा बसेर विगतको घरबेटीको बारेमा सबै जानकारी पाएका, भारतबाट नेपालमा आएर विभिन्न व्यवसाय गर्ने व्यक्ति चोरीमा बढी संलग्न भएको परिसरले जनाएको छ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले १८ देखि ३० वर्ष उमेरका व्यक्ति बढी चोरीमा संलग्न भएको बताए। ‘प्रहरीले सुरु गरेको ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमले चोरीमा संलग्न पक्राउ गर्न सजिलो भएको छ,’ उनले भने। परिसर र महाशाखाको टोलीले गत दुई दिनमा बानेश्वरबाट १७, महाराजगञ्जबाट १३, न्यूरोडबाट ८, थानकोटबाट नौलाई पक्राउ गरेको छ भने ८३ जनासँग अनुसन्धान गरिरहेको छ। दुई महिला र १९ पुरुष धरौटीमा छुटेका छन्। यस्तै तीन महिला र २१ पुरुषलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

दुई लाख नगदसहित १२ जुवाडे पक्राउ
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, वुद्धराज थेवे, विमल मगर, सनम राई र शान्ति तामाङ छन्।

वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले तास र कौडा खेलिरहेको अवस्थामा उनीहरुबाट दुई लाख २० हजार ७ सय ५ नगद, तीन बुक तास र कौडा बरामद गरिएको बताए। पक्राउ परेकालाई जुवा खेल्न तथा सट्टाबाजी गर्न नहुने कसुर सम्बन्धी अनुसन्धान गरेर मुद्दा चलाउने तयारी भएको प्रसाईंले बताए।(रासस)

प्रकाशित: २० माघ २०७५ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App