समाज

रोकिएन रौतहटमा काठ तस्करी

रौतहट –  रौतहटको राष्ट्रिय वनबाट काठ तस्करी हुन रोकिएको छैन। जिल्ला वन कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकसहितको टोली गस्तीमा खटाएको भने पनि काठ तस्करी भने नरोकिएको हो।

डिभिजन वन कार्यालयबाट खटिएको सशस्त्र वन रक्षकको गस्ती टोलीले जंगलसैया वनक्षेत्रबाट नम्बर प्लेट उल्लेख नभएको ट्याक्टरमा लोड भएको सालका गोलिया बरामद गरेपछि काठ तस्करी नरोकिएको पुष्टि भएको हो। विशेष सूचनाका आधारमा गएको वनरक्षक टोली पुग्दा काठ तस्करहरू भने भागेको बताइएको छ।

वनमा नियमित निगरानी तथा गस्ती गर्न थालिएपछि अहिलेसम्म काठसहित ६ वटा बोलेरो जिप, तीनवटा ट्याक्टर तथा विभिन्न संख्यामा मोटरसाइकल, साइकलसमेत बरामद भइसकेका छन्। तस्करीको प्रकृति हेर्दा एउटै समूह सक्रिय रहेको अनुमान गरिएको छ।
गत साउन १ गतेदेखि यही माघ १७ गतेसम्म डिभिजन वन कार्यालय (रौतहट)ले १८ सयभन्दा बढी क्युबिक फिट काठ बरादम गरिसकेको जनाएको छ। यसअवधिमा १७ व्यक्तिलाई समेत नियन्त्रणमा लिएर वन ऐनअनुसार कारबाही भइरहेको जिल्ला वन कार्यालयले जनाएको छ।

प्रकाशित: २० माघ २०७५ ०३:५१ आइतबार

वन काठ तस्करी प्रहरी