समाज

दर्जन बढी सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा

नियन्त्रणमा लिइएका सरकारी गाडी। तस्बिर : डिबि/नागरिक

जुम्ला - शनिबार बिदाको दिन सञ्चालनमा आएका दर्जन बढी सरकारी सवारीसाधन जिल्ला ट्राफिक कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ। पटक पटक सरकारी सवारीसाधनको मर्यादा भित्र रहेर सञ्चालन गर्न सुझाव दिँदा पनि अटेर गरेर चलाएको भेटिएपछि दर्जन बढी सरकारी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको हो।

बिदाको दिनमा अनावश्यक व्यक्तिगत कामको प्रयोजनका लागि सरकारी सवारीसाधनको प्रयोग हुन थालेपछि खलंगाको चोकचोकमा प्रहरी परिचालन गरेर गाडी नियन्त्रणमा लिइएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख माधव रावतका अनुसार सरकारी सवारी गैर सरकारी व्यक्तिले प्रयोग गर्ने गरेको भेटिएको छ।

सर्वसाधारणबाट सरकारी सवारीसाधनको दुरुपयोग भइरहेको जनगुनासो बढेको थियो। रावत भने,“सरकारी सवारीसाधन बारेको अप्रेशन सञ्चालन गर्दा दर्जन बढी नियन्त्रणमा छन्। सरकारी सवारीसाधनको दुरुपयोग हुन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ।

"गाउँमा बिरामी बोक्ने एम्वुलेन्स छैनन्", नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने,“सरकारी साधन मनपरी चलिरहेका छन्। यो बिडम्वना हो। सरकारी सवारीको दुरुपयोग रोक्न प्रहरी प्रशासनको अप्रेशनको जरुरी छ।”

ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवै सवारीसाधन जिल्ला प्रहरी कार्यालयमा राखेको छ। जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख प्रहरी सहायक निरिक्षक माधव रावतका अनुसार, "सरकारी बिदाको दिन कार्यालयको काममा जानुपर्दा प्रशासनबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था छ। तर, यहाँ सवै प्रक्रिया लत्याउँदै सवारी चलेको भेटिएपछि नियन्त्रणमा लिइएको हो।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले अनुमति पत्र नलिएर बिदा वा शनिबारको दिन सरकारी सवारीसाधन चलाउने जोसुकैलाई नियम अनुसार कारबाही हुने बताए। उनले भने,“सरकारी सवारी सञ्चालन आचारसंहित विपरित हुने जुनसुकै क्रियाकलापलाई कारबाहीको दायरामा ल्याउने छौं।"

 

प्रकाशित: १९ माघ २०७५ ११:२७ शनिबार

जुम्ला सरकारी_सवारीसाधन ट्राफिक