समाज

वीरेन्द्रनगरमा कित्ताकाट र नक्सापास रोक्का

सुर्खेत- कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले नयाँ कित्ताकाट र घरको नक्सापास रोक्का गरेको छ। कार्यपालिका बैठकले नगरको बृहत्तर गुरुयोजना निर्माण भइरहेकाले हाललाई नयाँ कित्ताकाट र घरको नक्सापास रोक्ने निर्णय गरेको हो।

‘कर्णाली प्रदेश सरकार, सांसद, राजनीतिक दल र सरोकारवालाहरुको सुझाव अनुसार उपत्यकालाई व्यवस्थित शहरी सुविधायुक्त नगर बनाउन गुरुयोजना निर्माणको प्रक्रियामा छौ’ नगरप्रमुख देवकुमार सुवेदीले भने, ‘हाललाई लगत कट्टा भएका सडक क्षेत्रमा घर निर्माणकार्य प्रक्रिया मात्रै खुल्ला गर्ने निर्णय भएको छ।’

नगर कार्यपालिका बैठकले यसअघिनै गुरुयोजना तयार भइसकेको एकदेखि १२ नम्वर वडाबाहेकको जग्गा क्षेत्र र रत्न राजमार्गदेखि दक्षिणतर्फका २, ३, ९, १० र ११ वडामा जग्गा कित्ताकाट र घर नक्सा पाससमेतको कार्य पूर्णत रोक्का गर्ने निर्णय गरेको छ। कृषियोग्य जग्गाको खण्डीकरण सम्वन्धमा संघीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको पुस २७ गतेको परिपत्र, माघ ४ गते नगरपालिकाबाट गठित प्राविधिक समितिको सिफारिस अनुसार नयाँ कित्ताकाट र घरको नक्सापास रोक्ने निर्णय गरिएको प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए।

प्रकाशित: १९ माघ २०७५ ११:२५ शनिबार

कित्ता नक्सापास वीरेन्द्रनगर