समाज

रोकिएन राष्ट्रिय वनबाट काठको तस्करी

रौतहट – रौतहटको राष्ट्रि वन क्षेत्रबाट काठको तस्करी रोकिएको छैन । जिल्ला वन कार्यालयले तस्करी रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकका साथै कर्मचारीहरुको टोलीले निरन्तर अनुगमन गरिरहेको भए पनि काठ तस्करी भने रोकिएको देखिएन। 

डिभिजन वन कार्यालय रौतहटबाट खटिएको सशस्त्र वन रक्षकको गस्ति टोलीले जङ्गलसैया वनक्षेत्र बाट नम्बर प्लेट उल्लेख नभएको टेक्टरमा लोड भएको सालको गोलिया काठसहित बरामद गरेपछि काठ तस्करी अझै पनि भइरहेको स्पष्ट भएको हो । विशेष सुचनाको आधारमा डिभिजन वन कार्यालयबाट गएको सशस्त्र वन रक्षक टोली पुग्दा काठ तस्करहरु ट्रेक्टरमा लोड गरिएका सालको काठ छाडी भागेका थिए। तस्करहरु भाग्दा वेवारिसे अवस्थामा काठ बरामद गर्न सफल भएको कार्यालयले जनाएको छ। 

वनमा नियमित निगरानी तथा गस्ती परिचालन भएपछि अहिलेसम्म ६ वटा बोलेरो जीप, तिन वटा ट्रेक्टर, मोटरसाइकल, साइकलसमेत बरामद गरिसकेको छ । तस्करीको प्रकृती हेर्दा एउटै समुहका तस्करहरुद्वारा सबारी साधनबाट सालको गोलियाको तस्करी कार्यमा संलग्न रहेको पाइएको छ । तर अबैध काठसहित सबारी साधन बरामद भए पनि तस्करका मुख्य नाइके पक्राउ गर्न भने गस्ती टोली असफल भएको छ।  

पछिल्लो समय तस्करीमा प्रयोग भएको सबारी साधन बरामद हुन थालेपछि तस्करहरु निराश भएको हुन सक्ने अनुमान डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहको छ । अबैध रुपमा काँचो रुख कटान गरेर गोलीया बनाएर सहज रुपमा लैजाने गरेको तस्करहरुको सवारी साधन पछिल्लो समयमा बरामद हुने क्रम तिव्र भएको हुँदा उनीहरुको ढाँड भाँचिएको वन प्रमुख सिंहले प्रतिक्रिया दिएका छन्। 

गत साउन १ गतेदेखि माघ १७ गतेसम्म डिभिजन वन कार्यालय रौतहटले १८०५.६४ क्यूफिट काठ बरामद गरिसकेको छ भने साइकल ३४ थान, मानिस १७ जनालाई नियन्त्रणमा लिएर वन ऐन अनुसार कारवाही भइरहेको प्रमुख वन अधिकृत सिंहको भनाइ छ । नियमित रुपमा गस्तीको परिणाम नै दैनिक रुपमा रौतहटको घना वनजंगललाई उजाड बनाउने काठ तस्करहरुको गलत कार्यलाई पूर्ण रुपमा नियन्त्रणको प्रयास गरेको वन प्रमुख सिंहले बताएका छन।

प्रकाशित: १९ माघ २०७५ ०७:१२ शनिबार

रौतहट राष्ट्रि_वन काठ तस्करी