समाज

अपराध न्यूनीकरणका लागि अभिमुखीकरण

रसुवा - रसुवामा सञ्चालित माध्यमिक विद्यालयमा सामाजिक विषय अध्यापन गराउने शिक्षक मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा सामाजिक अपराध न्यूनीकरण विषयमा छलफल गर्न सदरमुकाम धुन्चेमा भेला भएका छन्।

सामाजिक अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्पर्क शिक्षकमा तोकिएका सामाजिक विषयका शिक्षकको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। ‘हामीले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि कार्ययोजना निर्माण गरेका थियौं,’ उनले भने, ‘कार्ययोजना कार्यान्वयनका क्रममा शिक्षकको क्षमता विकास कार्य गरेका हौं।’

सामाजिक अपराधबारे शिक्षकले सिक्ने र विद्यार्थीमार्फत अभिभावकसम्म कानुनी ज्ञान पुर्‍याउन कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका प्रमुख बालकृष्ण सिम्खडाले बताए। ‘अहिले शिक्षकले पढाउँदै आएका छन्,’ उनले भने, त्यही पढाउने कुरा सहज तरिकाले समाजमा पुर्‍याउन सकिन्छ।’

यसमा सैद्धान्तिक ज्ञान मात्रै नभई व्यावहारिक ज्ञानसमेत सिकाइने छ। सामाजिक अपराधका किसिम, कारबाही प्रक्रिया, निवेदन लेख्ने तरिकालगायत विषयमा उनीहरूलाई जानकारी गराइनेछ। कानुनी भाषामा निवेदन लेख्न सिकाएर पीडितलाई न्यायको क्षेत्रमा पहुँच पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको छ। जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त आयोजना रहेको दुई दिने अभिमुखीकरणमा २३ विद्यालयका सामाजिक शिक्षक सहभागी छन्।

प्रकाशित: १८ माघ २०७५ ०२:२९ शुक्रबार

रसुवा माध्यमिक_विद्यालय शिक्षक मानव_बेचबिखन अपराध अभिमुखीकरण