समाज

सप्तपाताल पोखरी कि विद्यालय भवन

काठमाडौं - लगनखेलमा ऐतिहासिक सप्तपाताल पोखरी रहने वा नमुना मच्छिन्द्र माविका नाममा भवन बन्ने ? सर्वोच्च अदालतको फैसला निर्णायक हुनेछ। १६ वर्षदेखि विवादको छिनोफानो नहुँदा विद्यालय पक्षधर र पोखरी पक्षधरबीचको कानुनी लडाइँ लम्बिएको छ। १४ रोपनी १० आना २ पैसा क्षेत्रफल जग्गा सप्तपाताल पोखरीको हो भनी सर्वोच्च अदालतको परमादेशमा उल्लेख भए पनि ६७ वर्ष लामो इतिहास बोकेको सार्वजनिक विद्यालय नमुना मच्छिन्द्रको नाममा लालपुर्जा रहेकाले अन्योल कायम छ।

विद्यालयका नामको लालपुर्जा रहेको जग्गामा सप्तपाताल पोखरी थियो भनी ऐतिहासिक तस्बिर सुरक्षित रहेको स्थानीय पूर्ण स्थापित बताउँछन्। तर नमुना मच्छिन्द्रका भूतपूर्व विद्यार्थी एवं अधिवक्ता पुरुषोत्तम ढुंगाना २०२१ सालको नापीमा पोखरीको उल्लेख नभएको जिकिर गर्छन्। विद्यालयको नाममा रहेको लालपुर्जा बदरको मागसहित अदालत पुगेका सप्तपाताल बचाऊ अभियन्ताका पक्षमा फैसला भए पोखरी कायम रहनेछ भने विपक्षमा फैसला भए नमुना मच्छिन्द्रलाई भवन बनाउने मार्ग खुल्नेछ। मुद्दा विचाराधीन रहेकै अवस्थामा नक्सा पास गरेर जापानी सहयोग नियोग जाइकाको सहयोगमा भवन बनाउन पहल हुँदै आएको छ। पोखरी बचाऊ अभियानका पूर्ण स्थापित कुनै पनि हालतमा भवन बन्न नदिने बताउँछन् भने अधिवक्ता ढुंगाना कानुनबमोजिम भवन बन्न लागेको दाबी गर्छन्।
२०५९ सालमा नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको नाममा व्यापारिक भवन बनाउन थालिएपछि विवाद सुरु भएको थियो। स्थानीयको पहलपछि दायर मुद्दामा सर्वोच्च अदालतको प्रतिषेध मिश्रित परमादेश आएर निर्माण कार्य रोकिएको थियो। २०६१ माघ ८ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिप्रसाद शर्मा र न्यायाधीश परमानन्द झाको संयुक्त इजलासले प्रतिषेध मिश्रित परमादेश जारी गर्दै कम्प्लेक्स निर्माणका लागि ललितपुर उपमहानगरपालिकाको सूचना टाँस, सरजमिन मुचुल्का र नक्सापास मुचुल्कासमेत त्रुटिपूर्ण देखिएको भन्दै उत्प्रेषणको आदेशद्वारा बदर गरेको थियो। परमादेशमा मिति २०५० माघ २९ मा श्री ५ को सरकारका नाममा दर्ता रहेको जग्गा ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक महत्वको स्थल देखिएको हुँदा त्यस्तो क्षेत्र मासिने र स्तूपसमेतको वरिपरिबाट देखिने दृश्यसमेतलाई असर पर्नेगरी बनाउन लागेको निर्माणाधीन भवन नबनाउनू भनी विपक्षी विद्यालयका नाममा प्रतिषेध जारी गरिएको उल्लेख छ।

२०५९ सालमा नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको नाममा व्यापारिक भवन बनाउन थालिएपछि विवाद सुरु भएको थियो। स्थानीयको पहलपछि दायर मुद्दामा सर्वोच्च अदालतको प्रतिषेध मिश्रित परमादेश आएर निर्माण कार्य रोकिएको थियो।

परमादेशपछि व्यापारिक भवन निर्माणका लागि हालिएको जग र पोखरी भनिएको स्थानको माटो निकाल्न खोज्दा विद्यालयले अदालतमा मुद्दा दायर गर्‍यो। परमादेश जारी गरिएको विषयमा बोल्न नमिल्ने भनेपछि सर्वोच्च अदालतमा पुनरवलोकनको निवेदन दियो। सप्तपाताल पोखरी पक्षधरहरु नमुना मच्छिन्द्र माविको नामको लालपुर्जा बदर र भवन निर्माणको नक्सा बदर गरी पाऊँ भनी छुट्टाछुट्टै निवेदनसहित अदालत पुगे। अब सप्तपातालसँग जोडिएका मुद्दाको फैसला एकसाथ भएपछि मात्र यो विवादको टुंगो लाग्नेछ।

पुरातात्विक महत्व
लगनखेल, अशोक चैत्य र सप्तपाताल पोखरीको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्व छ। लगनखेलको अर्थ खुला चौर हो। उक्त क्षेत्रमा अशोक चैत्य, नेपाली सेनाको राजदल गण ब्यारेक, नमुना मच्छिन्द्र मावि, ललितपुर जिल्ला अदालत, मालपोत कार्यालय, नापी विभाग, जिल्ला पशुसेवा कार्यालय र स्काउटको भवनका साथै बाटोसमेत काटिएको छ। नापीको फिल्डबुकमा उक्त जग्गा लगनखेल उल्लेख छ। यसमा रहेको अशोक स्तूप २३ सय वर्ष पुरानो हो।

पोखरीमा मीननाथको जात्राको अन्तिम पूर्जा हुने गर्छ। मच्छेन्द्रनाथ र मीननाथको जात्राको परम्परागत महŒव छ। यसलाई विभिधतामा एकताको प्रतीक मानिन्छ। सप्तपातालमा दुइटा माछा विधिपूर्वक पूजा गरेर छाडिन्छ। ती माछामार्फत नागराजलाई सन्देश जाने विश्वास छ। दुईवटा भँगेरा छाडी भयमुक्त भएको सन्देश स्वर्गका राजा इन्द्रलाई पठाउने धार्मिक प्रचलन छ। पोखरी राजकुलोमार्फत आउने पानी जम्मा गरी लगनखेल क्षेत्रलाई पानीको स्रोतको रुपमा राखिएको थियो। अहिले राजकुलो नष्ट भइसकेको छ। वर्षाको पानीले मात्र बचेको पोखरी भरिन्छ।
उल्लिखित तथ्य र जोताहा महलमा लगनखेल भएको आधार उल्लेख गर्दै सर्वोच्चको आदेशअनुसार ललितपुर महानगरपालिकाको कित्ता नम्बर १२६ को २ सय ५ रोपनी ८ आना जग्गा अशोक स्तूपको क्षेत्र भएको सार्वजनिक जग्गा हो। सर्वोच्चले सरकारको नाममा नआउँदै सरकारको निर्णयले गठित शिक्षण संस्था सम्पत्ति व्यवस्था जिल्ला समिति, ललितपुरको २०३४ फागुन १२ को क्षेत्रफल १४ रोपनी १० आना दुई पैसा क्षेत्रफल भएको जग्गा विद्यालयको भन्ने जिकिर निराधार ठहर गरेको थियो।

प्रकाशित: १८ माघ २०७५ ०१:५४ शुक्रबार

लगनखेल सर्वोच्च_अदालत सप्तपाताल_पोखरी जग्गा_विवाद