समाज

जेलमै जलिन् महिला

रौतहट - रौतहटको गौर कारागारमा एकजना महिला शरीरमा आगो लागेर घाइते भएकी छिन्। विहीबार विहान करिब साढे १० बजे खाना पकाउनको लागि कारागारभित्रैको महिला वार्डमा स्टोभमा आगो सल्काउँदा कपालमा आगो सल्केर सुनसरी जिल्लाको धरान नगरपालिका १३ की २६ वर्षीय कल्पना गुरुङ राई घाइते भएकी कारागार प्रशासनले जानकारी दिएको छ।

राईको शरीरमा आगो लागेलगत्तै सुरक्षाकर्मीहरु महिला वार्डमा पुगेर निजलाई जोगाएको तथा उपचारको लागि नजिकै रहेको जिल्ला अस्पताल गौरमा पुर्याएका थिए। महिलालाई थप उपचारको लागि विरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले बताए।

घाइते राईले जिल्ला अस्पताल गौरमा प्रहरीसमक्ष स्टोभ बाल्ने क्रममा उछिट्टिएर मट्टितेल र आगो आफ्नो कपालमा परेको बयान दिएको रौतहट प्रहरी प्रमुख एसपी ढकालले बताए। घाइते राईलाई लागुऔषध मुद्दामा मोरङ जिल्ला अदालतले दुई बर्षको कैद सजाय र एक लाख जरिवाना गरेको थियो। 

प्रकाशित: १७ माघ २०७५ १५:३५ बिहीबार

गौर_कारागार आगो रौतहट