समाज

विपत् व्यवस्थापनसम्बन्धी सामग्री सहयोग

सोलुखुम्बु – काठमाडौंको दरबारमार्गस्थित रोटरी क्लबले सोलुदुधकुण्ड नगरपालिकालाई विपत् व्यवस्थापनका विविधि सामाग्री हस्तान्तरण गरेको छ। रोटेरियल ब्रिटिस ग्रुपको सहयोगमा प्राप्त आगलागीका बेला प्रयोग गरिने दर्जनौं सामाग्री मेयर नाम्गेलजाङबु शेर्पालाई हस्तान्तरण गरिएको हो।

आगलागी नियन्त्रणका लागि प्रयोग गरिने अस्थायी ट्यांकी, दमकल नपुग्ने स्थानमा पनि लगेर आगो नियन्त्रणमा प्रयोग गर्न सकिने जेनेरेटर, दमकल पाइप, उद्धारका लागि आवश्यक स्टेचर, विपत्मा प्रयोग गर्न सकिने सुविधासम्पन्न टेन्ट, अग्नि नियन्त्रकले प्रयोग गर्ने क्याप, ज्याकेट, बुट, आगो नियन्त्रणका लागि आवश्यक अन्य सामाग्री तथा विपत्मा परेकाका लागि प्रयोग गर्न मिल्ने विभिन्न सामग्री ब्रिटिस ग्रुपले नगरपालिकालाई हस्तान्तरण गरेको हो।

सामाग्री ग्रहण गर्दै मेयर शेर्पाले आगलागीका घटनाप्रति नगरपालिका संवदेनशील रहेको बताए। उनले भने, ‘नगरपालिकासँग भएका सामग्री र सहयोग प्राप्त सामाग्रीलाई उचित संरक्षण र प्रयोगमा ध्यान दिनेछौं।’ सामाग्रीसँगै दक्ष जनशक्ति परिचालन गर्ने सन्दर्भमा पनि नगरपालिका चनाखो रहेको मेयर शेर्पाको दाबी छ।

रोटरी क्लबका निर्वतमान अध्यक्ष सनारसिंह कार्कीले सल्लेरी क्षेत्रमा सल्लोको काठबाट बनेको घर बढी रहेका कारण आगलागीको जोखिम पनि उत्तिकै रहेकाले नगरपालिकालाई आगलागी नियन्त्रणका सामग्री सहयोग गरिएको बताए। उनले भने, ‘बजार क्षेत्रमा काठबाट निर्मित घरहरू लस्करै रहेकाले पनि अग्नि नियन्त्रणमा चनाखो हुनु आवश्यक छ। यही जोखिमलाई मध्यनजर गर्दै सहयोग गरेका हाैँ।’ नगरपालिका क्षेत्रमा ठूला दमकल जान नसक्ने भएकाले सानो दमकल सहयोग गर्ने गरी प्रक्रिया अघि बढेको उनले जानकारी दिए।

प्रकाशित: १७ माघ २०७५ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App