समाज

घरछेउकै स्कुल जाँदैनन् विद्यार्थी

घरछेउको विद्यालय छोडेर टाढाको विद्यालयमा पढ्न गएका विद्यार्थी। तस्बिर : दिनेश/नागरिक

रोल्पा - रोल्पा नगरपालिका माडीचौर पहाडको ठाउँ भए पनि समथर छ । बाक्लो बस्ती रहेको यो गाउँ सदरमुकाम लिवाङपछिको सुगम गाउँ मानिन्छ । माडीचौरमै जन्मे हुर्केका वर्षमान पुन अहिले ऊर्जामन्त्री छन् भने उनकी पत्नी ओनसरी घर्ती पटक पटकका सरकारमा मन्त्री र एक कार्यकाल सभामुख पनि बनिन्। वर्षमान कै बहिनी मनकुमारी रोल्पा नगरपालिकाकी उपमेयर हुन् । त्यस्तै अर्की बहिनी लालकुमारी पुन पनि ललितपुबाट प्रदेश सांसद छिन् । त्यसो त यही गाउँका बासिन्दा दिपेन्द्र कुमार पुन प्रदेश सांसद छन्। 

यो गाउँमा सडक पुगेको छ, केन्दीय प्रसारणको लाइन विस्तार भएसँगै बत्ती छ। फोन सेवा छ। ५ किलोमिटर वर आयो भने जिल्ला अस्पताल छ। करिब १० किलोमिटर वर सदरमुकाम छ । सिँचाइ सुविधा पुगेका पर्याप्त खेतीयोग्य जमिन छन्। त्यसैले पनि सरकारले यही ठाउँमा आउँदो शैक्षिक सत्रदेखि कृर्षि क्याम्पससमेत सञ्चालन गर्दै छ । माडीचौरको बीच गाउँमा बालउदय माध्यमिक विद्यालय छ। विद्यालयको आफ्नै भवन छ, शिक्षक छन् अनि गाउँभरि विद्यार्थी छन्। तर यहाँको स्कुलमा गतिलो पढाइ नहुने भन्दै विद्यार्थीहरू पढ्नकै लागि भनेर कोट गाउँको स्कुल जाने गर्छन्।

‘स्कुल त मेरो घर छेउमै पनि छ तर त्यहाँ राम्रो पढाइ नै हुँदैन। पाँच मिनेटमा पुगिने स्कुल छाडेर एक डेढ घण्टा उकालो चढेर यहाँ पढ्न आउने गर्छु’, नेपाल मावि कोटगाउँमा कक्षा ४ मा पढ्ने १० बर्से विवेक घर्तीमगरले भने, ‘हाम्रो गाउँका १५÷२० जना जति यहाँ आउँछौं। आउन जानै समस्या छ। यहाँ त धेरै टाढा छ।’ यी दुवै सामुदायिक विद्यालय हुन् तर विद्यार्थीको रोजाइमा टाढाको विद्यालय परेको छ।

बिहान सबेरै भ्याइनभ्याइ दौडेर विद्यालय पुग्ने उनीहरू घर छेउको स्कुलको पढाइ सुधार नहुँदा दिक्क मान्छन्। ‘बिहानै बुवाले खाना बनाइदिनुहुन्छ। ७ बजे खाना खाएर स्कुल दौडिन्छौं। हिजोआज टिउसन पनि छ,’ कक्षा ७ मा पढ्दै गरेकी प्रतिभा घर्तीले भनिन्, ‘बिहानै खाएको खाना अनि झोलामा लगेको खाजाले दिनभरि धान्नै गाह्रो हुन्छ।’ कक्षा ५ कक्षासम्म तलकै स्कुल पढेकी उनले गाउँमा पढाइ राम्रै नभएकाले टाढाको स्कुल जानुपर्ने बाध्यता आएको बताइन्।

सदरमुकाम छेउमा रहेको नगरपालिका भित्रैको सरकारी विद्यालयले गतिलो पढाइनदिएपछि गुणस्तरीय पढाइको खोजीमा विद्यार्थी टाढाको अर्को सरकारी विद्यालयमा पुगेको देखेका जनप्रतिनिधिले विद्यालयहरूमा शैक्षिक सुधारको कुनै योजना ल्याएका छैनन्। ‘शिक्षामा सुधार गर्नु धेरै छ । सदरमुकाम नजिक सडक छेउको विद्यालयको स्तर त खस्किएको छ। अन्तको हालत के होला। दुई तीन वर्ष यता कोटगाउँ स्कुलले राम्रो गर्दै गयो। तर,सुविधासम्पन्न भनिएको ठाउँको विद्यालयको स्तर भने बढ्न सकेन।’ आफ्नै गाउँका विद्यार्थीलाई टाढाको गाउँको विद्यालयमा भेटेका प्रदेश सांसद दीपेन्द्रकुमार पुनले भने, ‘अब शैक्षिक सुधार गर्न सबै जना लाग्ने बेला भइसकेको छ।’ माडीचौर मै घर भएकी रोल्पा नगरपालिकाकी उपमेयर पनि यो समस्यासँग परिचित छिन्। ‘धेरै विद्यार्थी उता जान्छन्। मैले पनि देखेको छु। सबै सरकारी विद्यालय एकैनासको हुनुपर्ने । बारम्बार या विषय उठिरहेको छ । पूर्वाधार पनि छ। तर, शैक्षिक स्तर बढ्न सकेन।’ उनी भन्छिन् ‘विद्यालय सुधारको प्रक्रिया चल्दै छ । अन्य विद्यालयमा जस्तै माडीचौरमा पनि नगरको सहयोगमा कोचिङ कक्षा सञ्चालन भइरहेको छ । आशा गरौं सुधार होला । अविभावकले पनि विद्यालय र सन्तानको पढाइमा ध्यानै दिँदैनन्।’

‘शैक्षिक सुधारका लागि नगरपालिकाको पहलमा कोचिङ चलाएका छौं। केही समयअघि माडीचौरका प्रधानाध्यापक पनि फेरेका छौं। अहिले सो विद्यालय पनि सुधारको बाटोमा छ’, रोल्पा नगरका मेयर पूर्ण केसीले बताए। ‘जति गर्दा पनि शैक्षिक स्तर सुधार गर्न नसक्ने विद्यालयका व्यवस्थापन समिति र प्रअ परिवर्तन गर्ने सोचमा छौं।’

प्रकाशित: १६ माघ २०७५ १२:०५ बुधबार

रोल्पा स्कुल विद्यार्थी