समाज

काठमाडाैंमा चिसो बढ्याे

काठमाडाैं- काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ। महाशाखाको पछिल्लो विवरणानुसार बुधवार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ। मङ्गलबार काठमाडाैंको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस थियो। मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ। “तापक्रम घटे पनि यस वर्षा माइनसमा पुग्ने सम्भावना छैन”, उनले भने। यस वर्ष सबैभन्दा कम शून्य डिग्रीसम्म पुगेको थियो। अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ। 

पहाडी भूभागका एक/दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए। बिहीबार पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहनेछ। शुक्रबार पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाको पछिल्लो विवरणानुसार आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। रासस

प्रकाशित: १६ माघ २०७५ ०८:१६ बुधबार

तापक्रम काठमाडाैं_उपत्यका चिसो