समाज

एकाएक मर्न थाले तिला नदीका माछा

जुम्ला- जुम्ला चन्दननाथ नगरपालिका १० का नरेन्द्र भण्डारीले एक सातादेखि तिला नदीमा एकाएक माछा मर्दै आएको देखे। सदरमुकाम खलंगामा आउजाउ गर्दा खोलामा मरेको माछा भेटिने गरेको सुनाउँछन्। उनले सानादेखि ठूला माछासम्म मर्ने गरेको बताए।

नदीमा माछा मरेर पानीमा तैरिरहेका छन्।  उनले भने, ‘माछा मर्नुको कारणबारे हामीलाई थाहा छैन। तर बिनाकारण माछा मर्दैनन्, केही त कारण पक्कै होला।’ नदीमा पानीको बेग कम भएका स्थानमा मरेका माछाहरू भेटिने गरेका छन्। तिला नदीमा माछामा देखिएको समस्याको तत्काल पहिचान गरेर माछा बचाउने अभियानमा लाग्न सरोकारवालालाई स्थानीयले आग्रह गरेका छन्। 

नदीमा मरेका माछा बजारसम्म पुग्ने गरेका छन्। मरेको माछा खानाले स्वास्थ्यमा हुने हानिका विषयमा समेत चनाखो बन्नुपर्ने स्थानीय बताउँछन्।  चिसो मौसम भएका कारण मरेका माछाहरू सड्दैनन्। बजारमा सहजै बिक्री भइराखेका छन्। ठूलो मात्रामा नदीमा माछाहरू मरेको देख्दा स्थानीय चिन्तित छन्। तिला नदीमा असला जातका माछाहरू बढी मात्रामा पाइन्छन्।

यो माछा लोपोन्मुख प्रजातिको माछा हो। विगतभन्दा यस वर्ष तिला नदीमा पानीको बहाव घटेको स्थानीयले बताएका छन्। यता प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलका अनुसारका विषादि प्रयोग, पानीमा करेन्टर लगाएर वा अन्य कुनै कारणले माछाहरू मरेको हुन सक्ने बताउँछन्। ‘माछाहरू मर्नुको कारण अहिले भन्न सकिने अवस्था छैन्, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘सत्य तथ्य पत्ता लगाउनको लागि अनुसन्धान टोली गठन गरेका छौँ। उनका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र जुम्लाका प्रमुख गोविन्दवहादुर महतको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ।

कृषि ज्ञान केन्द्र जुम्ला र जिल्ला स्वास्थ्य कार्यालय जुम्ला सदस्य छन्। सो टोलीले माछा मर्नुको कारणबारे अनुसन्धान थाल्ने छ।  एक हप्ताभित्र गठित अनुसन्धान टोलीलाई माछा मर्नुको कारण पहिचान गरी रिपोर्ट बुझाउन निर्देशन गरिएको छ, प्रजिअ पौडेलले भने, ‘सम्भवत एक हप्तापछि माछा मर्नुको कारण पहिचान हुने छ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले बजारमा बिक्रिका लागि ल्याएका माछा नखान सर्वसाधारण सबैलाई सुझाव दिएका छन्।

अनुसन्धान टोली प्रमुख महतले तिला नदीमा मरेका माछाको अनुसन्धान भइरहेको बताएका छन्।  जुम्ला पातारासी गाउँपालिकाको उर्थुदेखि तिलागुफा नगरपालिकाको नाग्मसम्म माछा मरेको भन्दै महतले मर्नुको कारणबारे पहिचान हुन नसकेको बताए। तिला नदीको छेउ छाउमा माछा मरिरहेका छन्, उनले भने, ‘नदीमा मरेका माछा ल्याएर हेर्ने काम पनि भइसक्यो। जुम्लाको तिला नदीमा मरेका माछाको विषयमा भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय सुर्खेतमा जानकारी दिइसकेका छौँ।’

कृषि सहकारी मन्त्रालयलाई जानकारी गराई सकेपछि माछा विशेषज्ञसँग मन्त्रलायले परामर्श गरिरहेको छ।

 

 

 

प्रकाशित: १६ माघ २०७५ ०७:४० बुधबार

जुम्ला तिला_नदी माछा