समाज

रेडियो अपरेटरमाथि १४ करोड भ्रष्टचार आरोप

फाइल फाेटाे

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठले १४ करोड बराबर भ्रष्टचार गरी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

आयोगले २२ किलो सुन प्रकरणमा २०७३ पुस २७ गते निलम्बनमा परेका अपरेटर श्रेष्ठले १४ करोड बराबर रकम भ्रष्टचार गरेको देखिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। अपरेटर श्रेष्ठले आमाबुवा, श्रीमती, भाइ, बुहारीको नाममा समेत सम्पत्ति लुकाएको अख्तियारको आरोप छ।

आयोगका प्रवक्तासमेत रहेका सहसचिव रामेश्वर दंगालका अनुसार श्रेष्ठको वैद्यानिक आम्दानी तथा सम्पत्ति ९ करोड ६३ लाख रुपैयाँ मात्रै रहेको तर श्रेष्ठको खर्च तथा लगानी भने १९ करोड ७४ लाख देखिएको आयोगको आरोप छ। श्रेष्ठले १४ करोड ६१ लाखको आम्दानी र सम्पत्तिको स्रोत देखाउन नसकेपछि मुद्दा दायर गरिएको हो।

‘१४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुपैयाँ बराबरको स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको’ आयोगको उजुरी पत्रमा भनिएको छ, ‘श्रेष्ठले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले उक्त रकम बिगो बराबरको क्षतिपूर्तिसहित माग गरिएको छ।’ आयोगका अनुसार २०५३ चैत ५ गतेदेखि अनुसन्धान अवधिसम्ममा श्यामकृष्ण च्वामु श्रेष्ठको पारिश्रमिक बचत १८ लाख १६ हजार ९ सय ४८ मात्रै आम्दानी गरेको देखिएको र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा ३ करोड ४७ लाख ७६ हजार ४ सय ३९ रुपैयाँ देखिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठले १४ करोड बराबर भ्रष्टचार गरी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर।

आयोगको अनुसन्धानमा ९ करोड ६३ लाख आम्दानी गरेका श्रेष्ठले २ करोड ४६ लाख ३९ हजार ३ सय २५, घर निमार्ण ३ करोड ८६ लाख १५ हजार ८ सय ८९, अध्ययन खर्चमा १० लाख ६८ हजार ४ सय ३ खर्च गरेको खुलेको छ भने नमोबुद्ध एग्रो प्रालिमा लगानी ५ करोड ४७ लाख ६८ हजारसहित सवारी साधन खरिदमा मात्रै २ करोड २६ लाख १६ हजार खर्च गरेको देखिन आएको छ।

८६ लाख १८ हजार बैंक मौज्जात भएका श्रेष्ठले ९२ लाख २२ हजारमा फ्लाट खरिद गरेको सहित १९ करोड ७४ लाख ५५ हजार ८ सय १६ रुपैयाँ खर्च तथा लगानी गरेको आयोगको आरोप पत्रमा उल्लेख छ।

साथै, श्रेष्ठले श्रीमतीद्वय तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठसहित बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइबुहारी रविना प्रधानांगको नाममासमेत सम्पत्ति लुकाएको आयोगको अनुसन्धानबाट खुलेको प्रवक्ता दंगालले जानकारी दिएका छन्। अख्तियारले गैरकानुनी रुपमा कमाएको सम्पत्ति लुकाउने श्रेष्ठका अन्य परिवारजनलाई पनि कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको छ।

प्रकाशित: १६ माघ २०७५ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App