समाज

कटिङले पहिरोको जोखिम

काठमाडौं - नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई फास्टट्रयाक (द्रुतमाग) को विस्तारका लागि अहिलेकै डिजाइनमा जमिन कटिङ गर्दा पहिरोको जोखिम हुने देखिएको छ। काठमाडौंदेखि निजगढसम्मको ७६ किलोमिटर लामो सडक खण्ड विस्तारका लागि अहिलेकै डिजाइनअनुसार कटिङ गर्दा पहिरोको जोखिम हुने भन्दै अतिरिक्त जग्गा आवश्यक पर्ने जनाइएको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको ४४ औं बैठकमा फास्ट ट्रयाक निर्माणका चुनौती प्रस्तुत गर्दैै सडक निर्माणको दायाँतर्फ थप जग्गा आवश्यक पर्ने जनाइएको छ।

सेनाले फास्ट ट्रयाक निर्माणका क्रममा निर्माणस्थल वरपर रहेका वनजंगल, खोलानाला, खानी एवं सरकारी जग्गाबाट आवश्यक अनुसारको निर्माण सामग्री उत्खनन गर्न नपाउँदा निर्माण कार्यमा समेत ढिलाइ भएको जनाएको छ। सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि सेनाले हाल उक्त सडक निर्माणको काम अघि बढाइरहेको छ। राष्ट्रिय महत्वको उक्त आयोजना निर्माण सम्बन्धी विस्तृत आयोजना रिपोर्ट (डिपिआर) निर्माणको जिम्मा कोरियन कम्पनीलाई दिएको सेनाले डिपिआर निर्माण सम्पन्न नहुँदै फास्ट ट्रयाक निर्माणको कार्य अघि बढाएको हो। सेनाले विश्व बैंकले पहिले नै गरेको अध्ययनका आधारमा निर्माणको काम भइरहेको जनाएको छ।

चालू आर्थिक वर्षको प्रथम चौमासिकमा आयोजना निर्माणका लागि झण्डै साढे तीन अर्ब खर्च भएको सेनाले जनाएको छ। यस अवधिमा आयोजनाको इन्जिनियरिङ सर्भे तथा डिजाइनतर्फ विस्तृत ईन्जियनियरिङ सर्भेक्षण र अलाइनमेन्ट डिजाइन, पुलको स्थान तथा लम्बाई निर्माणलगायतका काम सम्पन्न भइसकेको छ।

सडक निर्माणतर्फ यस अवधिमा ५४ किमि सडक खण्डभित्र सव ग्रेड लेभलसम्म अर्थवर्क कटिङ, फिलिङको कार्य भइरहेको छ। प्रथम चौमासिकमा २७ लाख क्युमी अर्थवर्क गरिएको छ। यस्तै ९४ प्रतिशत (१५०६९ रोपनी) जग्गा अधिग्रहणको कार्य सम्पन्न भएको छ। हाल फास्ट ट्रयाक निर्माणमा आवश्यक खोकना वेस क्याम निर्माणका लागि खरिद प्रक्रिया अघी बढेको सेनाले जनाएको छ। सेनाले आयोजना स्थलको सुरक्षार्थ पहिलो चरणमा गत वर्ष साउनबाट मकवानपुरको सिस्नेरी दोभान, लेनडाँडा, बुदुने तथा बाराको बागदेवमा बेसक्याम्प स्थापना गरी काम अघि बढाएको छ। त्यस्तै मकवानपुरका ठिंगन, महादेवटार तथा राजदमार र बाराको निजगढ अस्थायी क्याम्प खडा गरी सडक विस्तारको काम गरिरहेको छ।

प्रकाशित: १५ माघ २०७५ ०३:१० मंगलबार

नेपाली_सेना काठमाडौं_तराई_फास्टट्रयाक द्रुतमाग डिजाइन पहिरो जोखिम