समाज

राप्ती नदीमा झोलुंगे पुल बन्ने भएपछि स्थानीय हर्षित

भम्का–बैरिया राप्तीघाटमा निर्माण हुन लागेको झोलुंगे पुल शुक्रबार शिलान्यास गरिँदै । तस्बिर : अर्जुन/नागरिक

बाँके(कुसुम) – झोलुंगे पुल बन्ने भएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भम्का गाउँका स्थानीय हर्षित भएका छन्। उक्त क्षेत्रको भम्का–बैरिया राप्तीघाटमा भोलुंगे पुल बन्ने भएको हो। भम्का घाटमा झोलुंगे पुल निर्माण गर्न ठेक्का सम्झाैंता भएर पनि केहीदिन देखी काम सुरु भइसकेको छ।

२ करोड ७६ लाख रुपैयाँको लागतमा बन्न लागेको झोलुंगे पुलको शुक्रबार राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार एवं कांग्रेस क्षेत्रीय सभापति माधवराम खत्री र गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले धार्मिक विधीपुर्वक शिलान्यास गरेका हुन्।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेटबाट बन्न लागेको उक्त पुलको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न हुने स्थानीयले विश्वास गरेका छन्। ठेकेदार कम्पनीले अबको ८ महिनाभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्ने आश्वासन दिएको छ। पुलको शिलान्यास भएपछि ठेकेदारले द्रुत गतिमा काम अगाडि बढाउने भम्का गाउँका स्थानीय समेत रहेका नेता खत्रीले विश्वास गरे।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा भम्का–बैरियालाई जोड्न झोलुंगे पुल निर्माण गर्ने निर्णय मन्त्रालयले गरेको स्मरण गर्दै उनले भने, ‘मन्त्रालयबाट त्यतिबेला पुलको योजना पर्याे, तर केही प्राविधिक समस्याले पुनः सर्वे गर्नुपर्ने भयो, त्यसकारण निर्माणको काम गर्न थोरै ढिलाई भयो, ढिलै भएपनि अहिले काम सुरु भइसकेको छ, ठेकेदारले तोकेको समयभित्र सम्पन्न गर्नेमा हामीलाई विश्वास छ।’ झोलुंगे पुल बनेपछि राप्तीनदी वारपार गर्न धेरै राहत मिल्ने विश्वास गरे।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले झोलुंगे पुल बनेपछि बिकट गाउँको अवस्था फेरिने बताउँदै पुलबाट गाउँसम्म जोड्ने आवश्यक पुर्वाधार बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए। गाउँपालिका उपाध्यक्ष खत्रीले पुल नहुँदा नदीपारी रहेका बासिन्दालाई आवत–जावत गर्न विगतमा समस्या हुने गरेको स्मरण गर्दै पुल बनेपछि धेरै राहत मिल्ने बताइन्।

‘वर्षौदेखी डुंगाको साहारामा यात्रा गर्नु सामान्य कुरा होइन, यहाँका जनता महान हुनुहुन्छ,’ उनले भनिन् ‘अब विगतको जस्तो दुःख कष्ट बेहोर्नुपर्ने छैन।’ ठेकेदारले काममा कुनै बिलम्व गर्न नहुने उपाध्यक्ष खत्रीको सुझाव छ। राप्तीसोनारी वडा नम्बर १ अन्तर्गत रहेका गाउँको बीचबाट राप्तीनदी बग्ने गरेको छ। नदीले वर्षेनी खेतीयोग्य जमिन कटान, पटान र डुबान गर्दै आएको छ।

प्रकाशित: १२ माघ २०७५ ०६:३७ शनिबार

राप्ती_नदी झोलुंगे_पुल शिलान्यास स्थानीय