समाज

सुधार केन्द्रमा कुटपिटबाट मृत्यु !

काठमाडौं – उपचार लागि रिहाब सेन्टरमा राखिएका व्यक्तिलाई त्यहाँका कर्मचारीले कुटपिट गर्दा मृत्यु भएको छ। ललितपुरस्थित महालक्ष्मी नगरपालिका–४ सीतापाखामा रहेको रिहाब सेन्टरमा महिनाको १५ हजार तिर्ने गरी भर्ना गरिएका दोलखाका सीताराम घिमिरेको कुटपिटकै क्रममा मृत्यु भएको हो। लागुऔषध दुव्र्ययसनी घिमिरेलाई आफन्तले सुधार्न बी केयर सेन्टरमा भर्ना गरेका थिए।

माघ ३ गते सोलुखुम्बु नाम्चेका छिरिङ ग्याल्जेन शेर्पाले सञ्चालन गरेको बी केयर लागुऔषध तथा पुनस्र्थापना तथा सुधार केन्द्रमा उपचारका लागि भर्ना गरिएका घिमिरेको माघ ६ गते कुटपिटबाट मुत्यु भएको ललितपुरका प्रवक्ता एसपी शेखर खनालले जानकारी दिए। ‘लागुऔषधको लत छुटाउन उनलाई परिवारका सदस्यले माघ ३ गते रिहाब सेन्टरमा भर्ना गराएका रहेछन्। भर्ना भएको तीन दिनपछि माघ ६ गते शारीरिक यातनाका कारण उनको मृत्यु भएको हो कि भन्ने अनुमान छ। हामीले यस विषयमा अनुसन्धान गरिरहेका छौं’, एसपी खनालले भने।

उनका अनुसार मृतक घिमिरेको शरीरभरि निलडाम थिए। निलडाम हेर्दा कुटपिट नै गरेको देखिएकाले अनुसन्धान सुरु गरेको उनले बताए। पोस्टमार्टम रिपोर्ट आइसकेपछि अनुसन्धानका लागि थप सजिलो हुने पनि उनले बताए। प्रहरीले अनुसन्धानका लागि दुईजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोलुखुम्बु नाम्चेका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा, बिर्तामोडका ४८ वर्षीय सुनील खड्का क्षेत्री छन्। शेर्पा रिहाब सञ्चालक र क्षेत्री मेनेजर भएको प्रहरीले जनाएको छ। एसपी खनालका अनुसार उनीहरु दुवैले कुटपिट भएको स्वीकारेका छन्। ‘कर्तव्य ज्यान मुद्दामा उनीहरुलाई ५ दिनको सयम लिएर अनुसन्धान गरिरहेका छौ,’ सातदोबाटो प्रहरी वृत्तले यसको अनुसन्धान सुरु गरेको छ’, एसपी खानले भने। प्रहरीका अनुसार घिमिरेलाई कुटपिट गर्नेमध्ये रिहाब सेन्टरकै अन्य दुईजना फरार छन्। फरार हुनेमा कीर्तिपुरका २८ वर्षीय सुधीर कार्की र सिन्धुपाल्चोक घर भई कोटेश्वर बस्ने मुकेन्द्र केसी रहेको एसपी खनालले बताए।

प्रकाशित: १२ माघ २०७५ ०२:३१ शनिबार

सुधार_केन्द्र उपचार कुटपिट